‘कम्युनिष्ट शासन चाहिँदैन, अधिकार खोस्न पाइदैन’

‘कम्युनिष्ट शासन चाहिँदैन, अधिकार खोस्न पाइदैन’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार आनन्द ढुंगानाले कम्युनिष्टहरुलाई नेपाली जनताको अधिकार खोस्ने दुष्चेष्टा नगर्न चेतावनी दिनुभएको छ ।

धनुषा क्षेत्र नं १ अन्तरगत कजरा रमौलमा आयोजित चुनावी सभालाई संबोधन गर्ने क्रममा उहाँले सो चेतावनी दिनुभएको हो ।

एमाले र माओवादी मिलेर नेपालमा कम्युनिष्ट शासन ल्याउने दावी गरेको बताउदै उहाँले भन्नुभयो,“ हामीलाई कम्युनिष्ट शासन चाहिदैन, जनताको अधिकार खोस्न पाइदैन।”

उहाँले नेपाली जनताले ७० बर्षको संघर्षपछि पाएको यही संविधानलाई संशोधन गरी जनतालाई अधिकार सम्पन्न गर्न सकिने र विकास तथा समृद्धि पनि हासिल गर्न सकिने बताउनुभयो ।

उहाँले एमालेप्रति रोष प्रकट गर्दै भन्नुभयो,“ संविधान संशोधन गरेर मधेशी जनतालाई थप अधिकारले सुसज्जित बनाऔ भन्दा विरोध गर्ने एमाले अहिले जनताको अधिकार खोसेर साम्यवादी शासन ल्याउने सपना देखेको छ, लेखेर राख्नुहोस् नेपाली जनताले त्यसलाई कहिल्यै पूरा हुन दिने छैनन् ।”

नेपाली जनताले लामो समय संघर्ष गरेर हासिल गरेका अधिकारहरुको रक्षा गर्न लोकतान्त्रिक शक्तिलाई नै मजबूत बनाउन पर्ने भएकोले फेरि पनि नेपाली कांग्रेसको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

उहँँले संविधानले राजनीतिक व्यवस्थाको टुंगो लगाई सकेको हुनाले अब नेपाली कांग्रेस जनतालाई सुखी र सम्पन्न बनाउने अधियानमा लाग्ने बताउनुभयो । “अब हाम्रो ध्यान विकास निर्माण र आर्थिक समृद्धि हासिल गर्नेमामात्र केन्द्रित हुनेछ ” उहाँले भन्नुभयो ।

नेता ढुंगानाले मधेशी जनताको माग र आवश्यकता अनुरुप संविधानको संशोधन पनि नेपाली कांग्रेसबाट मात्र सम्भव भएको बताउनुभयो ।

सोमबार नेका उम्मेद्वार ढुंंगानाको टोलीले ईनर्वा,ललिया, उत्तिमपुर, मिथिलेश्वर, भुतही र पटेर्वा सहितका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रममा धनुषा क्षेत्र नं १ प्रदेश ९ख०का नेपाली कांग्रेसका उम्मेद्वार रामउदय यादव,प्रदेशसभा समानुपातिक उम्मेदवार रामसुन्दर महरा,जिल्ला कोषाध्यक्ष हरिनारायण साह,महाधिवेशन प्रतिनिधि रामपल्टन साह, प्रदीप यादव,श्यामलाल महतो,उमेश साह,मदन घिमिरे,भोगेन्द्र ठाकुर लगायतका वक्ताहरुले नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । चुनावी प्रचार अभियानमा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मधेश विरोधीलाई परास्त गर्न कृषि मन्त्री यादवको अनुरोध

धनुषा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेद्वार एवम् कृषि विकास मन्त्री रामकृष्ण यादवले मधेश जनताको अधिकारको विपक्षमा रहेको एमाले सहितको कम्युनिष्ट गठबन्धनलाई पराजित गर्न आग्रह गर्नुृभएको छ ।

नेका उम्मेद्वार तथा मन्त्री यादवले निर्वाचन क्षेत्र नं २ को नाथपट्टि भिसरभोरा, गोठ कोयलपुर र जदुकोहा गाँउमा आयोजित घरदैलो अभियान एवम् कोणसभालाइृ सम्बोधन गर्दै सो अनुरोध गर्नुभएको हो ।

उहाँले राजनीतिक व्यवस्थाको टुंगो नयाँ संविधानले लगाइसकेको भएपनि कम्युनिष्टहरु कार्यकारी राष्ट्रप्रमुखको नारा उठाएर पुन मुलुकमा राजनीतिक अस्थिरता ल्याउने दुस्वप्न देखेको पनि उहाँले बताउनुभयो ।

संविधानका कमी कमजोरीलाई संशोधनका माध्यमबाट सच्याउदै नेपाली जनतालाई सुख र समृद्धिमा लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने सक्ने उहाँले दावी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रदेशसभाका उम्मेद्वार राजदेव यादव,पूर्व सांसद दिनेश प्रशैला,पूर्व सांसद शिवधारी यादव, शत्रुध्न यादव, सुदेश चौधरी,नवीन गोहीबार,सुधीर गोइत,विश्वेश्वर यादव, भोला चौधरी,प्रेमचन्द झा, उत्तिम मण्डल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।