जुनी-जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरु

जुनी-जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरु


-मुकेश राई
किन ढाक्यो बादलुले, आज अन्तुको डाँडा ?
किन भाग्छ आफ्नै छाँया, आफैदेखि टाढा ?
-अन्तर्मनको तरङ्ग
परदेशको साहित्यकाशबाट आफ्नो कोमल भावनाको माई जोगमाई बगाएर सिर्जनारुपी फूल फुलाउँदै यस्का सुगन्धले लाखौं श्रोता अनि पाठकहरुलाई मन्त्रमुग्ध बनाउने ईलामे चेली अर्थात् बुवा खडग बहादुर आङ्बुहाङ अनि आमा रुक्मणीदेवी आङ्बुहाङकी सुपुत्री गीतकार निलम आङ्बुहाङ राईको जन्म ईलामको समालबुङ्मा भएको हो । उनै प्रखर नारी हस्ताक्षर गीतकार निलम आङ्बुहाङ राईको सांगीतिक कोसेली गीती एल्बम जुनी-जुनी, भाग २ अनि गीती संग्रह ‘अन्तर्मनका तरङहरु’ अहिले मेरो हातमा छ ।

पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
बिर्सिंदैन मायाले माया चोटैचोट खाए पनि
-जुनी-जुनी, भाग १

करिब ६, ७ बर्षअगाडि कुमार सानु र संजीवनीको स्वरमा गुन्जिएको यो गीतले एउटा ईतिहास नै कायम त ग-यो नै, गीतकार निलम आङ्बुहाङ राईलाई एक सशक्त नारी गीतकारको रुपमा नेपाली संगीतको पृष्ठभूमिमा पहिचान दिलायो । जुन गीती एलबममा समेटिएका आठवटा गीतका एकल गीतकार निलम हुन् भने संगीतकार पनि एकल रुपमा अहिलेका जल्दाबल्दा संगीतज्ञ सुरेश अधिकारी रहेका थिए । यो गीतले मात्रै होइन, जुनी-जुनी भाग एकका हरेक गीतहरुले श्रोताका मन-मस्तिस्कमा एउटा अविस्मरणीय छाप छोड्न सफल भएको छ ।

स्कुले जीवनदेखि नै लेखन यात्रा शुरु गरेका निलमका रचनाहरु विभिन्न पत्रपत्रिकातिर फुटकर रुपमा आईरहेकै थियो । यस्तैमा बि सं २०५५ सालतिर ईलामबाट प्रकाशित ‘ईलामे चेलीका रचनाहरु’ (संयुक्त कवितासंग्रह)मा प्रकाशन तथा त्यही प्रकाशित त्रैमासिक साहित्यिक पत्रिका मेची किनारको ब्यवस्थापक, प्रकाशकको जिम्मेवारी पनि कुशलतापूर्वक वहन गरिन् । यसपछि उनका जुनी-जुनी भाग १, (गीती एल्बम, २०६२० अन्तर्मनका तरङहरु गीती संग्रह (२०६८) र जुनी-जुनी भाग २ (गीती एल्बम २०६८) म नै सार्वजनिक भइसकेको छ । यस अर्थमा उनी एक साहित्यप्रति समर्पित स्रस्टा हुन् । विभिन्न स्रस्टा र कलाकारहरुको उदगमस्थल ईलामले जन्माएकी निलम आफ्नो जन्मभूमिप्रति सदासदा आभारी रहेकी छिन्, जीवन भोभाइको क्रमिक यात्रामा उनी जहाँ रहे पनि जहाँ गए पनि ईलामलाई आत्मसात गरेकी छिन् । आफ्नो गाउँघर उनी कदापि भुल्दिनन्, उनको अन्तस्करणमा ईलामको मायामा गुन्जिरहन्छ भावनाका निश्छल लयहरु यसरी

पानी मीठो मेरो हजुर ईलाम बजारको
माया मीठो मेरो हजुर यो मन भित्रको १
-जुनी-जुनी भाग १

नागबेली बाटो पनि मेरो बाटो हेर्दो हो
अन्तु डाँडा विरहमा सुस्केरा फेर्दो हो
पंक्षी बनी उडी जाउँ कि स्वर्ग जस्तै मेरो गाउँ
जहाँ गए पनि मलाई प्यारो छ मेरो गाउँ १
-अन्तर्मनको तरङ्ग

कुनै पनि सर्जकको लयात्मक अभिब्यक्ति हो गीत, चाहे त्यो आन्तरिक लयबद्ध गरेर कोरिएको होस् या मात्रा र मिटरमा लेखिएको होस् सबै भन्दा पहिले भावपक्ष नै सबल हुनु पर्छ । जुन निलम आङ्बुहाङ राईका गीतहरुमा सघन रुपमा उपस्थित रहेका छन् । सरल, सहज शब्दहरुलाई एक कुशल कारीगरले खुबै कला कौशलको साथमा अत्यन्तै मेहनतको साथमा उनेको मोतीका मालाझैं उनिएका उनका गीतका हरफहरुले जो कोहिको मनलाई पुलकित बनाउँछ । यसरी भावप्रधान गीतहरु सिर्जना गर्न सक्ने क्षमता राख्ने अहिलेका एक सबल नारी हस्ताक्षर निलम आङ्बुहाङ राई आफ्नो गीतहरुमा स्वच्छन्द भएर भावनाको सागर उराल्छिन् ।

डाँडापाखा छहराले तिम्रै गीत गाउँछ
छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
सताएर नजाउ टाढा ए माया
तिम्रैलागि म आएँ यो धर्तीमा १ -जुनी-जुनी भाग १

उनको गीती साथै अन्य सिर्जनाहरु पढ्दा जति कोमल लाग्छ, उनलाई व्यक्तिगत रुपमा भेटेर गफ गर्दा ठिक्क मात्रै बोल्ने अनि कसैलाई नबिझाउने अत्यन्तै कोमल हृदयी लाग्छिन् । मायामा गर्नु र केही पाउन खोज्नु एउटा कुरो हो भने कसैको गल्ती माफ गर्न सक्नु आफैमा झनै महान कार्य हो १ यसरी मनभरि गुनासोहरु बोकेर पनि कसैलाई खुशीसाथ आत्मीयता दिन सक्नु भलै निश्छल मनबाट जन्मिएको कल्पनाको सीमाभरि होस्, एउटा चेतना हो, सन्देश हो जुन गीतकार निलम आङ्बुहाङ राई आफ्नो गीतभरि-भरि पोख्छिन् ।

भैगो मैले बिर्सिदिएँ, तिमीले दिएका चोटहरु
माफ भयो तिमीलाई भुलिदिएँ पीडाहरु १
जुनी-जुनी भाग २

कुनै पनि सफल पुरुषको पछाडि एउटी सबल नारीको हात हुन्छ भने झैं यस्तै एउटी नारी हस्ताक्षर निलम आङ्बुहाङ राईको सफलताको श्रेय केही हदसम्म उनको जीवनसाथी अर्थात् श्रीमान लेखराज राईमा पनि जान्छ । परदेशको बसाइ, सेनामा कार्यरत हुनुले विभिन्न स्थानमा जानु र पुग्नु पर्ने कार्य ब्यस्तताको वावजुद पनि निलम राईको यी साहित्यिक यात्रामा लेखराज राईजीको पूर्ण समर्थन र सहयोग छ । उनी एक सफल स्रस्टा मात्रै नभएर एक प्रतिभावान सुपुत्री एक धर्मपत्नी अनि एक ममतामयी आमा पनि हुन । जुन कुरोहरुलाई निलमले अति कृतज्ञताको साथ हरेक सिर्जनाका लहरहरुमा समर्पित भएर प्रेम भावना जन्माउछिन अनि जुनी-जुनी साथ रहने प्रण गर्छिन्, आग्रह गर्छिन् ।

जीवनसाथी तिमीलाई छ मेरो कसम
नछोडी देऊ यी हातहरु जनम जनम जनम

तिमीलाई देखूँ तिमीलाई भेटूँ हर साँझ बिहानी
मरेछु भने शिरमा रहोस् तिम्रो तिम्रो हात सिरानी
सगैँ बितून दिनरातहरु जनम जनम जनम जनम
जुनी-जुनी भाग २

हुन त, मैले गीतकार निलम आङ्बुहाङ राईजस्ती एक सबल स्रस्टाको सिर्जनामा केन्द्रित रहेर केही लेख्नु खोज्नुमा मेरो रहर मात्र हुन जाला या म उनको लेखन कौशलतामा न्याय गर्न नसकुलाँ । यसमा म आफूलाई एक समीक्षक होइन आफूलाई उनका सिर्जनाहरुका प्रशंसकको रुपमा राखेर लेख्ने जमर्को गरेको हुँ १ जे होस्, गीतकार निलम आङ्बुहाङ राईका आगामी दिनमा यो साहित्यिक यात्राले अझै सशक्त रुपमा निरन्तर प्रगतिको शिखर चददै जाओस् । यही हार्दिक शुभकामनासहित मेरो कलम बन्द गर्नुभन्दा अघि उनकै गीतका यी हरफहरु राखेर बिदा हुन चाहेँ ।

उकालीमा बिसाउनु हुन्न
अघि बढिरहूँ शिखर छुन
संघर्षसँग नहार्नु तिमी
यही नै हाम्रो एउटै चाहना ।
जुनी-जुनी भाग २