स्वीन्डन, यूके । हिजो स्वीन्डनस्थित एक स्पोस्र्ट क्लवमा बेलायतबासी क्षेत्रीहरुले एक वृहत भेला गरी वार्षिक भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ । लगातार झरी परेको दिन भएको भए तापनि अति नै व्यवस्थित तरिकाले हल तयार पारिएको थियो । विहान ११ बजेबाट शुरु भएको वार्षिक भेला रातको नौबजेसम्म चलेको थियो ।
समाजका भेष थापाबाट हेल्थ र सेफ्टीसम्वन्धी व्रिफिंगहरु गरिसकेपछि राष्ट्रिय गीत सामूहिक रुपमा गाइएको थियो । समाजका महासचिव राजन कुमार क्षेत्रीबाट सञ्चालित सो कार्यक्रममा उपाध्यक्ष प्रेम खड्काले स्वागत मन्तव्य दिएका थिए । नेपाली दूतावासको प्रतिनिधित्व गर्दै आएका तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य, एनआरएन यूकेका सचिव रामसरण सिंखडाको विशेष आतिथ्य र अन्य संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रमको उक्त औपचारिक चरणमा संस्थाबाट समाजका सहयोगीहरु, आजीवन सदस्यहरुलगायत बेलायतमा विभिन्न क्षेत्रहरुमा राम्रो प्रगति गर्ने क्षेत्रीहरुलाई सम्मान गरिएको थियो । ध्रुव के.सी., कृष्ण बहादुर अधिकारी क्षेत्री, कृष्ण कुमार थापा, डा. राम कुमार अधिकारी क्षेत्री, भेष कहादुर थापा, मेजर रुद्र बहादुर खड्का,राजु थापा तथा उच्च शिक्षामा सफलता प्राप्त गर्ने अनि अन्य क्षेत्रहरुमा प्रगति गर्नेहरुलगायत आजीवन सदस्यता लिनेहरुलाई सम्मान गरिएपछि मन्तव्यको क्रम शुरु भएको थियो ।
प्रमुख र विशेष अतिथिहरुले आआफ्नो मन्तव्य तथा शुभकामना दिएपछि समाजका अध्यक्ष भीम बानियाले आफ्नो मन्तव्य राखेपछि उक्त चरणको समाप्ती भएको थियो ।
बिहानबाट ब्रेक फास्ट हुँदै शुरु भएको वफे मुख्य कोर्सको खानामा रुपान्तरित भइसकेको थियो भने अर्कोतिर समाजकी सास्क्ृतिक सचिव सम्झना जीसीले मञ्चमा साँस्कृतिक चरणको शुरुवात गरिसकेकी थिईन् जसमा क्षेत्री समाजकै युवायुवतीहरुले विभिन्न नृत्यहरु प्रदर्शन गरी आफ्नो कला देखाएका थिए । बेलायतको धेरै परपरबाट बसलाई भाडामा ल्याई आएका क्षेत्रीहरु आठबजेबाट फर्कने क्रम शुरु गरिसकेका थिए । लगभग ७०० जनाजति क्षेत्रीहरुको सहभागिता रहेको सो कार्यक्रमलाई कानूनविद राजु थापा, एमभीओ मेजर नारायण भण्डारी, लेडिज फेशन डिजाइनर रवि लामिछानेले संयुक्त रुपमा प्रायोजन गरेका थिए ।
-तस्वीरसहित नरेन्द्र बस्नेत
Click here to view the full album
प्रतिक्रिया