छोरा नजन्माएको भन्दैै परिजनले यातना दिएपछि…

छोरा नजन्माएको भन्दैै परिजनले यातना दिएपछि…


छोरा नजन्माएको भन्दै परिवारजनले पीडा दिएको खप्न नसकी एक महिलाले आफ्नै नाबालिक छोरीको हत्या गरेको दर्दनाक घटना सार्वजनिक भएको छ । घटना बारा जिल्ला सुवर्ण गाउँपालिका–५ को हो ।

लगातार दुई छोरीको जन्म भएपछि २५ वर्षीया नजमा खातुनलाई सासु–ससुरा र रोजगारीका लागि विदेशमा रहेका श्रीमानले समेत अनेक किसिमले प्रताडना दिएको र यातना खप्नै नसक्ने भएपछि आफ्नी दुई वर्षीया छोरीको हत्या गर्ने सोच आएको खातुनको भनाई छ ।

छोरीको हत्या गरेको अभियोगमा हिजो आइतबार पक्राउ परेकी खातुनलाई बारा प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कलैया परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले नजमाले गत सोमबार साँझ छोरी बबिया खातुनको हत्या गरेको जानकारी दियो । दुईवटी छोरी मात्रै जन्माएको भन्दै विदेशदेखि श्रीमानले मानसिक तनाव दिएका र घरका अन्य सदस्यहरूले पनि दैनिक रुपमा यातना दिने गरेकोले आफूले यस्तो कदम उठाएको नजमाले प्रहरीलाई बयान दिएकी छिन् । छोरीको हत्या गरिदिएपछि दिनहुँको यातनामा कमी आउने आश आफूले गरेको उनको तर्क रहेको बताइएको छ ।

दुर्भाग्य त के छ भने मानसिक शान्तिको लागि काखे छोरीको हत्या गरेकी खातुनले अब लामो समय जेलमा गुजार्नुपर्ने सम्भावना प्रवल बनेको छ । उनीमाथि मुलुकी ऐन ज्यानसम्बन्धी मुद्दामा कार्वाही अगाडी बढाइएको र आरोप प्रमाणित भए २० बर्ष बढी जेल सजाय हुने बाराका प्रहरी प्रमुख राजकुमार बैदवारले जनाएका छन् ।

यसैबीच प्रहरीले ठूलो मात्रामा अवैध रुपमा उत्पादित घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर (पर्सा)का प्रमुख प्रहरी निरीक्षक कुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले घरेलु मदिरा उत्पादन गर्ने भट्टिसमेत नष्ट गरेकोे हो । पर्साको उदयपुरघुमी गाउँमा तयारी अवस्थामा रहेको पाँच सय लिटर घरेलु मदिरा र मदिरा बनाउनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको हो ।

– प्रणय साह