बंगलादेशका मेडिकल कलेज नेपाली विद्यार्थीका लागि खुल्लै

बंगलादेशका मेडिकल कलेज नेपाली विद्यार्थीका लागि खुल्लै


चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको छ । बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको इक्यानको भनाई छ ।

शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमित रुपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा बंगलादेश सरकारले भर्नामा रोक लगाएको थियो । बंगलादेशमा करिब १५० मेडिकल कलेज छन्भने त्यहाँ हाल करिब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । राससले जनाएअनुसार नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन् ।

बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ । इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करिब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् ।