‘वामगठबन्धनको घरदैलो बिथोल्न विष्फोट’

‘वामगठबन्धनको घरदैलो बिथोल्न विष्फोट’


तराई मधेसका विभिन्न स्थानमा बम बिस्फोट गराउँदै हिँड्ने गिरोहका एकजनालाई ईलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन असफल बनाउन विभिन्न स्थानमा विष्फोटका घटना भएपछि सुरक्षा व्यवस्थामाथि नै चुनौती पैदा भएको छ । यस्तोमा, बारा जिल्लामा बम विष्फोट गराउने योजना बनाएका जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ का अन्दाजी ३५ वर्षीय कासी भनिने सन्तोष तिमल्सिनालाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले बताए ।

प्रहरीले हिजो आइतबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ टाँगियाबस्ती नजिकै टिफिनकारीमा बम बिष्फोट गराउनेलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुनावी कार्यक्रममै बम विस्फोट गराउने योजना रहे पनि बम बस्तीभन्दा केही पर जङ्गलमा भएकाले कुनै प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । सिमरा प्रहरीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ टाँगियावस्तिमा वामगठबन्धनले गरिरहेको घरदैलो र सभालाई बिथोल्न उक्त बम विष्फोट गराइएको हो । निर्वाचनका बेला कुनै अवैध गतिविधि हुन नदिन र उम्मेदवारको सुरक्षाका लागि विभिन्न दलको चुनावी घरदैलोमा समेत सुरक्षा दिइरहेकाले ढुक्कका साथ उम्मेदवारहरू चुनावप्रचार प्रसारमा लाग्न प्रहरीले अनुरोध गरेको छ ।