चितवनमा आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

चितवनमा आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ


निर्वाचनपूर्वको विशेष सुरक्षा योजना चितवनमा प्रभावकारी देखिएको दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुत रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

निर्वाचनकेन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचनविरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २० जना र अन्य विभिन्न गुण्डागर्दीमा संलग्न १९ जना रहेका छन् ।

पछिल्लो समयमा पेस्तोल र गोलीसहित खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्दैआएका ३७ वर्षीय पुरन भन्ने पूर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विमल बराल र गुञ्जसिंह गुरुङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जनाएका छन् ।

चितवनमा पछिल्ला समयमा कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीनवटा सिलिण्डर पड्काइएको छ । उक्त कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक-फरक सुरक्षा योजना बनाएको छ । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुने बताइएको छ ।