रिमोटबाट विष्फोट हुने कुकर-बमसहित दुई पक्राउ

रिमोटबाट विष्फोट हुने कुकर-बमसहित दुई पक्राउ


राजविराज । निर्वाचनको मिति नजिकिँदै जाँदा सप्तरीमा पनि आपराधिक घटना घटाउने प्रयास भइरहेकै बखत सप्तरी प्रहरीलाई ठूलो सफलता प्राप्त भएको छ । ठूलै घटना घटाउने उद्देश्यले लुकाई राखिएको कुकर बम सोमबार राती प्रहरीले सदरमुकाम नजिकैबाट वरामद गरी निष्क्रिय पारेको छ ।

विष्णुपुर गाउँपालिकाको वडा नं. ६ स्थित महाविर चोकमा रिमोट लिएर घुमिरहेका एकजनालाई प्रहरीले पक्राउ गरेपछि उनको बयानको आधारमा कुकर–बम उक्त स्थानबाट प्रहरीले बरामद गरेको होे । संकाश्पद अवस्थामा रिमोटसहित घुमिरहेकालाई पक्राउ गरि नेपाली सेनाबाट रिमोटको परिक्षण गराउँदा विष्फोटक पदार्थ विष्फोट गराउन प्रयोग हुने रिमोट भएको पुष्टि भएपछि पक्राउ परेकाको बयानको आधारमा माटोमुनि गाडेर राखेको कुकर–बम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

सोही व्यक्तिको बयानको आधारमा तिलाठी कोइलाडी गाउापालीको वडा नं. १ गाईगोठवाट १ जनालाई १ थान लोड गरिएको कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जानकारी उहाँले दिनुभयो । पक्राउ परेका दुवैउपर अनुसन्धान भइरहेकाले तत्काल परिचय खुलाउन नसकिने समेत एसपी सिंहले बताए । उनका अनुसार बरामद भएको बम रिमोट कंट्रोलवाट करिब डेढ किलोमिटरको दूरीबाट पड्काउन मिल्ने खालको रहेको थियो ।

कुकर–बम बरामद भएको स्थानदेखि करिब ५ सय मिटरको दूरीमा सीमा सुरक्षा कार्यालय रहेको छ । त्यहाँदेखि करिब ४ किलोमिटर दक्षिण माओवादी केन्द्रका प्रतिनीधि सभा सदस्यका उम्मेदवार तथा पूर्व मन्त्री उमेशकुमार यादव र करिब ५ किलोमिटर दक्षिणमा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर र प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार लक्षमण यादवको निवास रहेको छ ।

सोमबार राती सप्तरी, सिरहा, धनुषा र उदायपुर गरी चार जिल्लामा एक साथ बम पडकाउने योजनामा रहेका विपलव समुहको योजना सप्तरीमा मानिस सहित कुकर वम पक्राउ परेपछि विफल भएको श्रोतले जनाएको छ । यद्यपी पक्राउ परेका व्यक्तिहरु विपलव समुहका कार्यकर्ता भएको सप्तरी प्रहरीले पुष्टि गरेको छैन ।

पाँच दिन अघि मात्र प्रहरीले सप्तरीको रुपनगरवाट विपलव समुहका जिल्ला सदस्य खगेन्द्र पोखरेल र गत शनिवार राजविराजवाट सिके राउतका सहयोगी ज्ञानेन्द्र खड्कालाई पक्राउ गरिसकेको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सप्तरी प्रहरीले उम्मेदवारहरुको सुरक्षा प्रति संवेदनशिल भई काम गरिरहेको जानकारी समेत प्रहरी प्रमुख सिंहले दिए ।

– हेमशंकर सिंह