सामाजिक सञ्जालमा सचेत तरङ्ग

सामाजिक सञ्जालमा सचेत तरङ्ग


मानवीय संवेदना नै मानिसको विवेक…
१. वृहस्पतिले भनेका छन्– पाँच ज्ञानेन्द्रीय र चार पदार्थबाट एउटा अर्को तत्व बन्छ, त्यो हो दिमाग । दिमागलाई संस्कृतमा मानस भनिन्छ । मानस नै बुद्धि र विवेक हो । मानसहीनता असभ्यता हो । नेपाली समाजको अहिलेको समस्या यही हो । मानिसको मृत्युमा मजाक गर्ने, विदेशमा बसेर नेपाललाई गाली गर्ने, गरिबलाई बिस्कुट बाँडेर सेल्फी खिच्नेजस्ता व्यवहार मानसरहित व्यवहार हुन् । मैले निसङ्कोच अभिव्यक्तिमा छलफल गरेको छु ।
२. नेपालको राजनीतिमा विदेशीहरूले यति धेरै विष घोलेका छन्, यसको सारतत्व नै नष्ट भएको छ । मानिस अन्धो भइसकेको छ । नेपालीको नेपाल समाप्त भइसकेको छ । अब पुनर्जागरण अभियानको आवश्यकता छ । नेपालीहरूले नेपालको माया गर्ने अवस्था निर्माण गर्न नयाँ संस्कृति र विचार चाहिन्छ ।
३. नेताहरूलाई गाली गर्ने संस्कृति नै विकास हो भन्ने मान्यता मौलाएको छ । तर, देश बनाउन सबैभन्दा पहिला मानिस सभ्य र देशभक्त हुनुपर्छ । पाइला–पाइला मा भ्रष्टाचार, अनैतिकता, कुनियत, बेमानी र धोखा मानिसका आदत बनेका छन् । हरेक मानिसलाई विदेश चाहिएको छ । ५० लाख तिरेर कन्टेनरमा बसेर अमेरिका जानेलाई के सम्पत्तिको कमी हो ?
४. राष्ट्र बनाउन पहिला आफू बन्नुपर्छ । आफू बनेपछि मात्र पदमा बसेका गलत मानिस फेर्न सकिन्छ । सबै संस्थामा खराब मानिसले अधीन जमाएका छन् । धोका र फरेबमा संलग्न मानिसलाई नेता बन्नुपरेको छ ।
अब देशले हिँड्ने बाटो फरक हुनुपर्छ । असल मानिस दुलोबाट निक्लने सङ्क्रमण हो अहिलेको समय ।

(युवराज सङ्ग्रौला फेसबुकमा)

०००

मेरो चुनावी राय
यो चुनावले कमल थापा, परिवार दल, विवेकशील साझा, नयाँ शक्ति आदि–इत्यादि लोकतन्त्रका झार, ऐंजेरू, घाँस, पराल सब फाँडेर एउटा रूख र अर्को हँसिया–हथौडा मात्र बाँकी राखे हुन्छ । कुनै पनि दलबाट केही नहुने भएपछि किन चाहियो धेरै दल । बरु पुरानै दलमा नयाँ जुझारु पुस्ता आइसकेको छ, उनीहरूसँग कम्तीमा राजनीतिक इतिहासको विरासत छ, त्यसको सम्मान गर्ने दायित्व छ । विगतमा केही गल्ती–कमजोरी भयो होला, तैपनि सात सालदेखि क्रान्ति गरेर आजको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासम्म मुलुकलाई ल्याउने शक्ति भनेका काङ्ग्रेस र कम्युनिस्ट नै हुन् । यिनले सत्तरी वर्ष लामो सङ्घर्ष गरेर गणतन्त्र ल्याएकाले मुलुक स्वतः आर्थिक क्रान्तिको दिशातर्फ जाने अवस्था बनेको छ । मिहिनेत गरेर एउटाले बाली फलायो, अब ठ्याक्क काट्ने बेलामा बीचमा फुत्त उफ्रिएर आई (उही लिगलिगे दौडमा घले राजासँग चिटिङ गरी ढुङ्गाको छेकोमा लुक्ने र अन्तिम गन्तव्यमा फुत्त दौडमा मिसिएर दौड जित्ने द्रव्य शाहको पाराझैँ) यी दलहरूले केही गरेनन्, अब हामीलाई भोट देऊ भन्दै नैतिकता, आचरण र विकासको ज्यादा खरानी घसिरहेका नयाँ जोगीतिर जनताको मत बरालिनु जरुरी छैन । अब ठूला कुरा होइन, पुराना दलहरूको आलोचना पनि होइन, यो भएन र उसो भएन पनि भन्ने होइन । अब यो चुनावपछि मुलुक स्वतः विकासतर्फ लम्कन्छ, वाम गठबन्धन सत्तामा र काङ्ग्रेस प्रतिपक्षमा । अरू सब आउट !

(कुसुम भट्टराई फेसबुकमा)

०००

निर्वाचनपछि एक महिना टिक्दैन गठबन्धन
वाम गठबन्धनले स्थिर सरकार बनाउन भनेर जनतासँग मत मागे पनि अब बन्ने सरकार २०४६ सालयताको सबैभन्दा अस्थिर सरकार हुनेछ । यो अस्थिर सरकार बनाउन प्रमुख भूमिका र पात्रमा पुष्पकमल दाहाल रहनेछन् । यो गठबन्धनको आयु मङ्सिर २२ बाट निर्धारण हुनेछ । आफ्नो सिङ्गो पार्टीलाई १० चिरामा विभाजन गराएर मिलाउन नसक्ने पुष्पकमल दाहाल र माओवादीप्रति तिखो वचनरूपी वाण ओकेल्ने केपी ओलीले वाम गठबन्धनलाई एक महिना टिकाउलान् भनेर मचाहिँ विश्वास गर्दिनँ । मत परिणाम आउन सुरु गरेको १ घन्टापछि यिनीहरूको जुआरी–दोहोरी सुरु हुनेछ ।

(चित्र केसी फेसबुकमा)

०००


ढाँट्यौ तिमीले…

फोनको घन्टी जाँदै थियो, काट्यौ तिमीले
व्यस्त थिएँ काममा भन्दै ढाँट्यौ तिमीले ।
मनमा सानो झुपडीको खाका बन्दै थियो
महलसँग आफ्नै आत्मा साट्यौ तिमीले ।
अस्ति मात्रै भनेको हो, दिलमा गाँठो कस्सिएछ
गाँठो फुकाई डोरी अन्तै बाट्यौ तिमीले ।
उकाली चढ्दै जाँदा शिखर चुम्न पाइन्छ नै
बीचैबाट हाम्फाल्न पो आँट्यौ तिमीले ।
गुनासाका पोकाहरू बाँध्न मलाई फुर्सद कहाँ
दुःख लाग्छ, थुकेको थुक चाट्यौ तिमीले ।।

(यशोदा तिम्सिना फेसबुकमा)