‘समाजलाई आतंकित पार्ने कार्य गलत’

‘समाजलाई आतंकित पार्ने कार्य गलत’


नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताएका छन् । झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा गत सोमबार राति अज्ञात समूहले बम विस्फोट घटना गराएको सन्दर्भबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सिटौलाले भने, ‘चुनाव बिथोल्ने समूहले मेरो घर नभएर देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो ।’

पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन जनता र संविधान निर्माणको पक्षमा रहेकोले चुनावलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्ने उल्लेख गरे । साथै उम्मेदवार तथा मतदान केन्द्रमा भइरहेको बम आतंकलाई सरकारदेखि स्थानीय प्रहरी प्रशासन सम्मले सुरक्षा निगरानी बढाउनुपर्ने सिटौलाको सुझाव छ ।

दोस्रो चरणमा हुन गइरहेको जिल्लाका निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन उनले सबै पक्षसँग अनुरोध पनि गरेका छन् । सिटौलाको घर पछाडिको कपाउन्ड वालभित्र सोमबार राति १२ बजेर ४५ मिनेटमा अज्ञात समूहले बम विस्फोट गराएका थिए । बम विस्फोटबाट कपाउन्डको वाल भत्किएको छ । सदरमुकाममै बम विस्फोट भएपछि प्रहरी, प्रशासनलाई निर्वाचन शान्ति सुरक्षामा चुनौती थपिएको छ ।

घटनालगत्तै सुरक्षाकर्मीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यसरी पक्राउ पर्नेमा झापाको बाह्रदशी ५ स्थायी घर भएका बिर्तामोड ३ बस्ने ४० वर्षीय राजेश कार्कीलाई पक्राउ गरिएको हो । कार्कीलाई सिटौला निवासबाट भाग्ने क्रममा सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा जिम्मा लगाएको जनाइएको छ ।

– रेजिना गौतम