कुकुर पाल्नुस् आयु बढाउनुस्

कुकुर पाल्नुस् आयु बढाउनुस्


कुकुर पाल्नु र लामो आयु बाँच्नुमा के सम्बन्ध होला ? स्वीडेनमा हालै गरिएको एक अध्ययनले कुकुर पाल्ने व्यक्ति हृदयरोगबाट मर्ने खतरा अत्यन्त कम हुने देखाएको छ । ३४ लाख कुकुरपालकलाई आधार बनाएर गरिएको अध्ययनले साथमा कुकुर हुनेवाला, अझ सिकारी नश्लका कुकुरका मालिकलाई हृदयरोगको खतरा कम हुने देखिएको हो । यसो हुनुको कारणचाहिँ कुनै अनौठो छैन । कुकुर पाल्ने व्यक्तिको शारीरिक गतिविधि या सक्रियता कुकुर नपाल्नेको तुलनामा ज्यादा हुने हुनाले कुकुरका धनीलाई मुटु रोगबाट बच्न सहयोग पुग्छ । कुकुर पाल्ने व्यक्तिको सामाजिक सम्पर्क पनि बढी हुने र त्यसले गर्दा मानिस खुसी रहन सघाउ पुग्ने भएकाले पनि आयु लम्बिन पुग्छ । एक्लो जीवन गुजारिरहेका व्यक्ति हृदयरोगबाट मर्ने सम्भावना ज्यादा रहने भएकाले त्यस्ता एक्ला व्यक्तिले कुकुर पालेमा उसले अत्यधिक लाभ पाउँछ । कुकुर नपाल्ने एक्ला व्यक्तिभन्दा कुकुर पाल्ने एक्लो व्यक्तिमा हृदयरोगको खतरा ३३ प्रतिशतले कम हुने अध्ययनको निष्कर्ष छ ।