हाम्रो नेपालमा !

हाम्रो नेपालमा !



– नरेन्द्र भट्टराई

भ्रष्टाचारी जाग्दा छन्,
इमानदारी भाग्दा छन्,
हाम्रो नेपालमा !

शक्त देश छाड्दा छन्,
अशक्त देश भाँड्दा छन्,
हाम्रो नेपालमा !

एउटा भाषण छाँट्दा छन्,
अर्को पसिना काड्दा छन्,
हाम्रो नेपालमा !

पढाइ एउटा गर्दा छन्,
जागिर अर्को भर्दा छन्,
हाम्रो नेपालमा !

नेतालाई गाली गर्दा छन्,
चुनावमा भोट हाल्दा छन्,
हाम्रो नेपालमा !

अघिल्लो दिन बाटो बन्दा छन्,
भोलिपल्ट बाटो खन्दा छन्,
हाम्रो नेपालमा !

अघिल्लो दिन मिल्दा छन्,
भोलिपल्ट बाझ्दा छन्,
हाम्रो नेपालमा !

पछिल्तिर सराप्दा छन्,
अगाडि पर्दा ढोग्दा छन्,
हाम्रो नेपालमा !

आफ्नो लुकाउँदा छन्,
अर्काको हडप्दा छन्,
हाम्रो नेपालमा !

अरूलाई पर्दा हाँस्दा छन्,
आफू पर्दा रुँदा छन्,
हाम्रो नेपालमा !

सस्तोमा किन्दा छन्,
महँगोमा बेच्दा छन्,
हाम्रो नेपालमा !

नियम बनाउँदा छन्,
कानुन जलाउँदा छन्,
हाम्रो नेपालमा !

मिति तोक्दा छन्,
मिति सार्दा छन्,
हाम्रो नेपालमा !

सहमति गर्दा छन्,
सहमति भाँड्दा छन्,
हाम्रो नेपालमा !

भनाइ एउटा गर्दा छन्,
लेखाइ अर्को गर्दा छन्,
हाम्रो नेपालमा !

तारिख दिँदा छन्,
तारिख सार्दा छन्,
हाम्रो नेपालमा !

देशमा रोग थपिँदा छन्,
वैद्य पलायन हुँदा छन्,
हाम्रो नेपालमा !

दोषी उम्कँदा छन्,
निर्दोष फस्दा छन्,
हाम्रो नेपालमा !

जित्नेले हार्दा छन्,
हार्नेले जित्दा छन्,
हाम्रो नेपालमा !

सोझा राजस्व तिर्दा छन्,
बाठा राजस्व खाँदा छन्,
हाम्रो नेपालमा !

लुटिने लुटिएका छन्,
लुट्नेले लुटेका छन्,
हाम्रो नेपालमा !

– सर्लाही हरिवन