निकालावासमा परेका हिरण्यशमशेरले यसरी लिए बदला

निकालावासमा परेका हिरण्यशमशेरले यसरी लिए बदला


वि.सं. १९९० चैत ५ गते, तदनुसार मार्च १८ ता. १९३४ इ. का दिन सञ्चय कोष विषयमा मिटिङका लागि सबै भाइभारदार सिंहदरबारमा जम्मा भए । ईश्वरशमशेरले सुवर्णशमशेर र महावीरशमशेरलाई निष्कासन गर्न लागेको कुरा सुनाए, सुन्नासाथै दुवैजनाले मुख रातो पारे । दुवैजनाले ‘पक्का हो र दाजी’ भनी प्रश्न गरे । ईश्वरशमशेरले ‘हेर्दै जाऊ’ भने ।

श्री ५ त्रिभुवनलाई जुद्धशमशेरले सिंहदरबारमा बोलाई रुद्रप्रवृत्तिलाई निष्कासित गर्न लागेको कुरा भनिसकेका रहेछन्, तब त श्री ५ महाराजाधिराज त्रिभुवन सबैसमक्ष आई निष्कासन हुनेहरू सबैलाई एक–एक गरी साथ नियाली हेरे र तुरुन्तै अर्को कोठाभित्र पसे । केहीबेरमै सो बैठकमा जुद्धशमशेर पसे र नाटकीय तरिकाबाट दुवै हातको रिभल्वर ‘Revolber’ रुद्रशमशेरको छातीनजिक ताकी, आफ्नो कमजोरी देखाउँदै ‘काइँला ! (रुद्र) म रणोद्दीपझँै हुन लागँै । तिमीहरू दुईथरीलाई मिलाउन अनेक कोसिस गरेँ, तर सकिनँ, तसर्थ तिमी पाल्पा जाऊ’ भने । रुद्रशमशेरले, ‘महाराजबाटै निगाहा भई यो मुख्तियारी पद पाएको हुँ छोडी जानू भन्ने हुकुम हुन्छ भने खुसीसाथ जान्छु, तर महाराज ! मबाट कुनै भूल भयो कि ?’ भनी प्रश्न गरे । ‘तिमीले भूल ग¥यौ भनी कसले भन्न सक्दछ, तिमी त फट्टिकजस्ता छौ’ भनी श्री ३ जुद्धले जवाफ दिए ।

बिदाबारी भई रुद्रशमशेर उत्तिखेरेै सिंहदरबारबाटै सोझै पाल्पातर्फ जान लाग्दा तल पु¥याउन सबै भाइ–भतिजाहरू आए । मोटर चढ्न लाग्दा रुद्रशमशेरले पद्म, मोहन, बबरहरू सबैतर्फ हेरी, ‘मैले सरकारको सोझो र इमानदारीका साथ काम गरेझँै लाग्दछ, तिमीहरूले पनि इमानदारीका साथ सरकारको काम गरे, जाँदै छु सम्झना राखे’ भनी मोटरभित्र पसे । केशरशमशेरचाहिँ मोटरभित्रै टाउको छिराई, हात जोडी ‘दाजीबाट अफसोच नलिबक्सियोस्, आज हजुरको पालो, भोलि हाम्रो पालो’ भने । जुद्धशमशेर पनि सो दिन रोए रे, तर कतिसम्म साँचो हो ।

रुद्रशमशेर जङ्गी निजामतीका साथै जनताका पनि प्रिय भएकाले सिंहदरबारको मूल ढोकाबाट रुद्रशमशेरको मोटर ननिकाली दक्षिण बबरमहलतर्फको ढोका (बरफबागतर्फको ढोका) बाट मोटर निकाली त्रिपुरेश्वरको बाटो हुँदै कालिमाटीबाट थानकोट पु¥याए । निज चढेको मोटरलाई चारैतर्फबाट सेनाले घेरेका थिए । रुद्रशमशेरहरूलाई पु¥याउन मुख्य भई कर्णेल गम्भीरजंग थापा खटिएका थिए, त्यस अवसरमा निज भैरहवाका बडाहाकिम पनि थिए ।

हिरण्यशमशेर उपरोक्त सञ्चय कोष विषयको बहाना गरिएको मिटिङमा १०४ डिग्री ज्वरो पुगेर बिरामी भएकाले सिंहदरबारमा जान सकेका थिएनन् । उनलाई नजरबन्दमा राखिएको थियो, अर्थात् आफ्नै ललितानिवास हाल नेपाल राष्ट्र बैंकको मुख्य कार्यालयलाई सेनाले घेरिराखेका थिए । हप्ता दिनभित्रै उनलाई निको भएपछि उनले काठमाडौं छाड्नुप¥यो र निजलाई बहालीमै धनकुटाको तैनाथ दिए । हिरण्यशमशेर काठमाडौं छाडी जाने दिन श्री ३ जुद्धले काजी रत्नमान सिंह, काजी नारायणभक्त माथेमा, सर्दार शिवनाथ ‘कविराज’, सर्दार पशुपतिभक्तहरूलाई ‘हिरण्य नेपाल (काठमाडौं) छोडी जाने दिन तिमीहरू बिदा हुन जानू र के भन्छन् मलाई भन्नू’ भनेकाले श्री ३ जुद्धको आज्ञामुताबिक हिरण्यशमशेर काठमाडौं छोडी जाने दिन उपरोक्त व्यक्तिहरू सबै ललितानिवास बालुवाटार पुगे ।

तर, मोटर चढ्ने बेलामा ती सबैसँग भेटेर बुलन्द आवाजमा हिरण्यशमशेरले ‘नेपाल (काठमाडौं) छोडी जाने बेलामा तिमीहरूले आफ्नो सम्झी भेट गर्न आयौ, खुशी लाग्यो, मलाई अरू कसैसँग केही भन्नु छैन, खालि त्यो कमान्डर–इन–चिफ भनाउँदो (पद्मशमशेर) लाई भनिदिनू कि अब पखेटा काटेको गिद्धझैँ भयौ रे । यति भनी मोटर चढी हिँडिहाले । हिरण्यशमशेर धनकुटातर्पm जान भनी गए, तर त्यहाँ नगई सोझै भारत कलकत्तातर्फ लागे । पछि उनी वीरगञ्ज (हाल नारायणी अञ्चल) मा, बडाहाकिम भई केही वर्ष कार्य गरे, पछि फेरि वीरगञ्ज छोडी भारत कलकत्तामै बसोबास गरे ।

वि.सं. २००७ सालको क्रान्तिमा यिनले सक्रिय भूमिका खेलेका थिए । नेपालमा प्रजातन्त्र आएपछि उनी काठमाडौं आए, तर आफ्नै एक मात्र छोरा सुवर्णशमशेर अति स्वार्थी, घुसघुसे हुनुको साथै डाहाडे मिजाजका भएकाले बाबु–छोराबीच ज्यादै मनमुटाव भयो र बाध्य भई काठमाडौं छोडी हिरण्यशमशेर भारत कलकत्तातर्फ गए । पछि उनी कहिल्यै नेपाल फर्केनन् ।

प्रतापशमशेरलाई बहालीमै इलामको तैनाथ दिई जुद्धशमशेरले पठाए, तर उनी पनि सोझै भारत दार्जिलिङमै बसोबास गरे । श्री ३ महाराज, प्रधानमन्त्रीको पद र खिताब कुनै राजसिंहासन समान नभएको र विनाकसुर आफ्नो जन्मस्थलबाट निष्कासन हुनुपरेको विषयलाई लिएर यिनले राष्ट्रिय न्यायालय ‘League of Nation’ समक्ष यस कुराको प्रस्ताव राख्ने प्रयास गरेका थिए । साथै भारतमा यिनले महात्मा गान्धीसँग समेत भेटवार्तामा उपरोक्त कुरामा राय–सल्लाह माग्दा गान्धीजीले भारतनिवासी नेपालीहरूद्वारा यस विषयमा आन्दोलन गराउने, त्यसपछि स्थिति हेरी पुनः सल्लाह दिने भएको हुँदा दार्जिलिङबाटै प्रवासी नेपालीहरूको सङ्गठनसमेत गर्न थाले । सो विषयको कुरा पाल्पामा आफ्ना दाजु रुद्रशमशेरलाई समेत गुप्त तवरबाट सूचना गर्ने गर्दथे । रुद्रशमशेरले पनि निजलाई राय, सल्लाह र प्रोत्साहन दिइनै रहन्थे । कलकत्तामा पनि हिरण्यशमशेरलाई सूचना गरी पठाउँदा निजले साथ दिन प्रस्ट इन्कार गरेकाले प्रतापशमशेर केही निराश अवश्य भए, तर उनी यस विषयमा कार्यरत भई नै रहे ।

हिरण्यशमशेरले प्रतापशमशेरलाई साथ नदिनाको कारण के रहेछ भने जुद्धशमशेर श्री ३ महाराज भएको केही दिनपछि नै पद्म, मोहन, बबर, केशरशमशेरहरू भई वसन्तशमशेरलाई स्व. श्री ३ भीमको समयमा हिरण्य र रामशमशेरहरू भई विनाकसुर मलाई थुनी सजायसमेत गरे त्यस विषयको इन्साफ गरी पाऊँ भनी श्री ३ जुद्धसमक्ष लिखित उजुर गर्न लगाए । सो मुद्दा कडाइका साथ हेरी राय पेस गर्न श्री ३ जुद्धले प्रतापशमशेरलाई अह्राए । श्री ३ जुद्धको आदेशअनुसार प्रतापशमशेरले सो मुद्दा कडाइका साथ सुनुवाइ गरे । हिरण्य र रामशमशेरहरूलाई फेरि पनि मुद्दाको निहुँ गरी निष्कासन गराउने यी पचभैयाहरूको विचार थियो, त्यस अवसरमा पद्मशमशेरले हिरण्य र रामशमशेरहरूलाई मात्र किन ? निष्कासन गर्ने हो भने सबैलाई एकैपटक निष्कासन गर्नुपर्छ भनेकाले सो मुद्दा त्यसै टुङ्गिएको रहेछ । प्रतापशमशेरको सोही समयको कडा कारबाहीलाई सम्झी हिरण्यशमशेरले साथ दिनमा साफ इन्कार गरेका रहेछन् । अकस्मात् वि.सं. १९९२ भदौ ६ गतेका दिन जम्मा ४८ वर्ष ६ महिनाको उमेरमा भारत दार्जिलिङमै शूलको व्यथाले जनरल प्रतापशमशेरको मृत्यु भयो । यिनको मृत्युलाई पनि शङ्कास्पद भन्दछन् । यिनको जन्म वि.सं. १९४३ फागुन १२ गतेका दिन भएको हो ।

(पुरुषोत्तमशमशेर जबराको श्री ३ हरुको तथ्यवृत्तान्तबाट)