बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान


विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ ।

बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत भदौमा सम्पन्न भएको थियो ।

करिब रु १४ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको आयोजनाबाट सदरमुकाम र आसपासका ९०० घरधुरी लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख मोहनबहादुर कुँवरले बताए । छ किलोमिटरको दूरीमा रहेको काशाीगाड मुहानबाट खानेपानी ल्याइएको उनले बताए । जिल्लाकै पहिलो गुणस्तरीय स्वच्छ खानेपानी योजना भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजनामा दुई वटा पानी प्रशोधन केन्द्र रहेको छ ।

करिब एक लाख ५० हजार घनमिटर क्षमता भएको रिजर्भ ट्यांकी रहेको र गढी तथा गोठलापानीका पम्पिङ प्रणालीबाट खानेपानी वितरण भइरहेको छ । राससका अनुसार खानेपानी वितरण भएसँगै सदरमुकाममा खानेपानी समस्या अन्त भएको उपभोक्ता समितिका अध्यक्ष चन्दको भनाइ छ ।