स्वास्थ्यचौकी निर्माणका लागि एक करोडको जग्गादान

स्वास्थ्यचौकी निर्माणका लागि एक करोडको जग्गादान


तत्कालीन जिल्ला पञ्चायतका सभापति स्व. कृष्णदेव झाको स्मृतिमा उनका कान्छा छोरा र बुहारीले राजविराजमा स्वास्थ्य चौकी निर्माणका लागि एक करोड मुल्यबराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।

कंकालिनी हनुमाननगर नगरपालिका वडा नं. ४ मधवापुरस्थित दिवंगत झाको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि उनका कान्छा छोरा शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र कान्छी बुहारी सञ्जु झाले उक्त जग्गा दान गरेका हुन् । स्वास्थ्य चौकी भवनको हिजो बुधवार शिलान्यास समेत सम्पन्न भएको छ । भवनको शिलान्यास धार्मिक विधिपूर्वक जग्गादाता शैलेन्द्रचन्द्र स्वयम्ले गरेका हुन् ।

२ करोड ४२ लाख ८० हजारको लागतमा निर्माण हुने उक्त स्वास्थ्यचौकी भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर कमलप्रसाद भट्टराइले जानकारी दिए । भवन र्निमाणको ठेक्का स्वामी नारायण साह जेभीले पाएको जानकारी समेत दिइएको छ ।

स्वास्थ्यचौकी निर्माणपछि बर्थिङ सेन्टर निर्माणका लागि पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

जिल्लाको सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बुबाको स्मृतिलाई चिरस्थायी तुल्याउन र आफ्नो गाउँ तथा आसपासका वासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गा दान गरेको जग्गादाता शैलेन्द्रचन्द्र झाले बताउ । उनी नेकपा एमालेको प्रदेश नम्बर २ संगठन कमिटि सदस्यसमेत हुन् ।

– हेमशंकर सिंह