तमुधिं यूकेको पुस्तकालय उद्घाटन्

तमुधिं यूकेको पुस्तकालय उद्घाटन्


लण्डन – बेलायतका नेपाली संघस्थाहरुमा तमूधिं यूकेको आफ्नो छुट्टै स्थान रहेको छ । नेपाली संघसंस्थाहरुमा सबैभन्दा पहिले आफ्नै भवन खरिद गरेर नेपालीहरुका लागि बिगत केही वर्षदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज बनाएको यथार्थ सम्पूर्ण बेलायतवासीलाई थाह भएकै कुरा हो । हिजो त्यही भवनभित्रको एउटा कोठामा लघु पुस्तकालय सञ्चलानार्थ पुस्तकालय उदघाटन् गरिएको एउटा ऐतिहासिक कार्य सम्पन्न भएको छ । संस्थागत हिसाबमा कुनै पनि नेपाली संस्थाद्वारा बेलायतको इतिहासमा पहिलोचोटि खोलिएको यो पहिलो नेपाली पुस्तकालय हो । तमूधिं यूकेको छैठौं सभाको अवसरमा नेपालबाट आएका, गुरुङ समुदायभित्रका वरिष्ठ समाजसेवी तथा बौद्धिक व्यक्तित्व द्वय रामकाजी कोने गुरुङ तथा प्राज्ञ ईन्द्र बहादुर गुरुङको बाहुलीबाट सामुहिक रुपमा सो पुस्तकालय समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
तमूधिं यूकेका अध्यक्ष, मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई चरणबद्ध क्रममा समाजका महासचिव ज्ञाम गुरुङले सञ्चालन गरेका थिए । सभाको मूल एजेण्डा पुस्तकालय उद्घाटन्, तमूधिं यूकेले प्रत्येकवर्ष सम्पन्न गरिंदै आएको, अर्को महिना, २६ अगस्तको दिन सम्पन्न हुन गइरहेको चौथो नेपाली मेलाको बारेमा बृहत छलफल, तमूधिं यूकेलाई विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरु, नेपालबाट आएका वरिश्ठ समाजसेवीहरुलाई सम्मान तथा तमूधिं यूकेका नयाँ सल्लाहाकारहरुलाई स्वागत गर्ने कुराहरु थिए । सभालाई सम्बोधन गर्दै समाजका उपाध्यक्ष रामचन्द्र गुरुङले आफ्नो छोटो स्वागत मन्तव्य प्रकट गरेका थिए । कार्यक्रमको शुरुवातमा विगत केही दिनभित्र दिवंगत भएका समाजका सदस्यहरुको परिवारजन, नेपाल तथा विश्वभरि स्वर्गारोहण भएका तमूहरुलाई श्रद्धाञ्जली अर्पण तथा दिवंगतहरुको चीरशान्तिका लागि दुई मिनट प्रार्थनाअनुरुप मौन धारणा गरेको थियो ।
सभाको पहिलो चरणमा समाजको अध्यक्ष मुछेत्र गुरुङले नेपालबाट आएका विद्वान समाजसेवीद्वय रामकाजी गुरुङ तथा प्राज्ञ ईन्द्रबहादुर गुरुङलाई खादा ओढाएर सम्मान गरेका थिए । मन्तव्य प्रकट गर्ने क्रममा सबैभन्दा पहिले समाजका सल्लाहाकार डाक्टर चन्द्र गुरुङले रामकाजी गुरुङको जीवनी, हालसम्म योगदान पुर्याएका कुराहरु बारे प्रकाश पारेका थिए । सम्मान गर्नेक्रममा रामकाजी गुरुङ र प्राज्ञ ईन्द्र बहादुर गुरुङले सभालाई सम्बोधन गरेर आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए । रामकाजी गुरुङले आफ्नो कृति (मुक्तक) पुस्तकालयलाई सोही अवसरमा प्रदान गरेका थिए । सोही अवसरमा तमूधिं यूकेलाई विभिन्न कोणबाट सहयोग पुर्याएका तीनजना तमूधिं यूकेका सदस्य÷सल्लाहाकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थियो । तर, ती तीनजनामध्ये क्याप्टैन रिटायर चित्रबहादुर गुरुङ मात्र उपस्थित रहेकोले उनलाई खादा ओढाएर सम्मान गरेको थियो । त्यसपछि नयाँ सल्लाहकारद्वय सुमल कुमार गुरुङ तथा तर्कजङ गुरुङलाई खादा ओढाएर स्वागत गरेको थियो । प्रथम चरणको अन्तिम चरणतिर दिनको झण्डै दुईबजे पुस्तकालय उद्घाटनको एैतिहासिक कार्यक्रम सम्पन्न भएको थियो । नेपाल मेलाका लागि केही संस्था तथा व्यक्तित्वहरुबाट प्रायोजन हुन गइरहेको कुराहरु संस्थासँग सम्बन्धित व्यक्तिहरुले व्यक्त गरेका थिए । तमूधिं यूकेले व्यवस्थापन गरिएको दिउँसो भोजनपछि दोश्रो चरणको कार्यक्रम लेफ्टेनेन्ट रिटायर्ड यादप गुरुङले सञ्चालन गरेका थिए । उक्त नेपाली मेलाको छलफलको क्रममा विविध कुराहरु पावर पोइन्टको माध्यमबाट ले.रि. यादपले बडो सटिक ढंगले प्रस्तुत गरेका थिए । नेपाली मेलाबारे विविध कुराहरु उपर छलफल भएको थियो ।
यसै क्रममा सल्लाहाकार सुमल कुमार गुरुङले बेलायतका नेपाली साहित्यकारहरुको कृति प्रबर्धनका लागि एउटा पुस्तक स्टालको प्रसङ्ग उठाएका थिए । सो स्टलमा निःशुल्क कृति प्रदर्शनी तथा विक्रीवितरणका लागि सभाले अनुमति दिएको छ । यसर्थ यसै स्तम्भद्वारा सम्पूर्ण नेपाली सर्जकहरुलाई सो मेलामा सहभागी भएर आफ्नो कृति उपलब्घ गराइदिन हुन सूचित गरिन्छ तथा इच्छुक सर्जकहरुलाई स्तम्भकारसँग सम्पर्क गर्ने अनुरोधसमेत गरिन्छ । नेपाल मेलाको व्यवस्थापन संयोजकको नाताले ले.रि. यादप गुरुङले झण्डै तीनघण्टा जतिको छलफल पश्चात सभा विसर्जन गरिएको थियो । श्रोत –सुमल, मेस ।