पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय

पृथ्वीजयन्तिका दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय


नेपाली कांग्रेसका तत्कालीन सभापति तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा भएको एक अलोकप्रिय निर्णय उल्ट्याउँदै कांग्रेसकै सभापतिको प्रधानमन्त्रीत्वको सरकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले पुष २७ का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस निर्णयको सर्वत्र प्रशंसा गरिएको छ ।

यसैगरी, सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी गराउनुभएअनुसार मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय पनि सरकारले गरेको छ । रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ भने नेपाल चेम्बर अफ कमर्शको छैटौँ विधान स्वीकृत गर्नुका साथै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्यावधि थप गर्ने निर्णय भएको छ ।