निर्वाचन सुरक्षित तुल्याउन ३४ हजार लिटर घरेलु मदिरा नष्ट

निर्वाचन सुरक्षित तुल्याउन ३४ हजार लिटर घरेलु मदिरा नष्ट


निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले शुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । अभियानका क्रममा आजसम्म कच्चा पदार्थसहित ३४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार तयारी मदिरा मात्रै १३ हजार लिटरभन्दा बढी बरामद गरेर नष्ट गरिएको छ भने घरेलु मदिरा बनाउने तयारीमा राखिएको २१ हजार लिटरभन्दा बढी कच्चापदार्थ बरामद गरी नष्ट गरिएको छ।

निर्वाचन सुरक्षा योजनाको पाँच रणनीतिमध्येको घरेलु मदिरा नियन्त्रण अभियान जिल्लाको बजारसँगै गाउँ क्षेत्रमा समेत सञ्चालन गरिएको बताइएको छ ।

घरेलु मदिराका कारण साना कुरालाई ठूलो बनाउने र त्यसैबाट राजनीतिक समूहबीच नै विवादको अवस्था सिर्जना गर्ने भएकाले यो अभियानलाई कडार्इ गरिएको प्रहरीको भनाई छ । अहिलेसम्म मदिरा उत्पादन नगर्न र बिक्री नगर्ने सर्तमा छाडिएको र अबदेखि सुरक्षा कडा पारिएकाले यस्ता क्रियाकलाप भएको पाइए पक्राउ गरिने प्रहरीले जनाएको छ ।

घरेलु मदिरा नियन्त्रणसँगै चितवन जिल्लामा प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान, लागुऔषध, साना हातहतियार, चुनाव बिथोल्ने गतिविधि नियन्त्रण अभियान चलाएको छ । साना हातहतियार नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म जिल्लामा दर्ता भएका ४४ हतियारसमेत प्रहरीमा आइसकेको र अन्य आउनेक्रम जारी रहेको जनाइएको छ ।