आफ्नो नीति लिएर नेता भइरहेका प्रचण्डलाई डा. बाबुराम भट्टराईले ‘नेताहरूको पनि नेता’ घोषणा गर्नुभएपछि कतिपयले प्रचण्ड–बाबुरामबीचको एकता खँदिलो भएको महसूस गरेका छन् । जब कि भट्टराईले त्यस्तो घोषणा गर्नु भए पनि जिल्ला–जिल्लामा उनका समर्थकहरू प्रचण्डलाई नेता मान्न तयार छैनन् । त्यसो त प्रचण्ड निवास र प्रधानमन्त्री निवासमा पनि एकअर्काको बदख्वाइँ गर्ने क्रम बढ्दो छ । प्रचण्ड आफ्ना निकटवर्ती र नातेदारहरूसँग भन्ने गर्छन्– ‘पार्टीमा बाबुरामको कुनै हैसियत छैन, पाँच प्रतिशत मानिस पनि बाबुरामको समर्थनमा छैनन् ।’ त्यस्तै प्रधानमन्त्री निवासमा बाबुरामको प्रभाव बढेको र प्रचण्डको हैसियत नराम्रोसँग खस्किएको विश्लेषण हुने गर्दछ । प्रचण्डको समर्थनमा राज्य समिति र त्यसभन्दा माथिल्लो समितिका मानिसहरू देखिएका भए पनि गाउँ र जिल्ला स्तरमा आफ्ना समर्थकरू अधिक रहेको बाबुराम पक्षले ठानेका छन् । प्रचण्डबाट कुनै पनि बिन्दुमा पुगेर धोखा हुनसक्छ भन्नेमा पनि बाबुरामसमर्थकहरू सचेत देखिन्छन् । बाबुरामको नीति बोकेर हिँडेकोमा भने बाबुरामसमर्थकहरूले प्रचण्डको ‘प्रशंसा’ गर्ने गरेका छन् । वास्तवमा संसारको कुनै पनि मुलकुका कम्युनिष्ट पार्टीमा जसको नीति पार्टीले अवलम्वन गर्छ तिनै व्यक्ति पार्टीको मूख्य नेता हुने प्रचलन छ । प्रचण्ड भने त्यसको अपवाद बनेकाछन्, विगतमा कहिले मोहन वैद्य किरणको नीतिप्रति त कहिले बाबुरामको नीतिप्रति आवश्यकताअनुसार ढल्कने गरेका प्रचण्ड मोहन वैद्यले नयाँ पार्टी गठन गरेपछि बाबुरामसँग हातेमालो गर्न बाध्य भएकाछन् । पार्टीलाई विचारलेभन्दा आफ्नो ‘चामत्कारिक’ कार्यशैलीले डोर्याउँदै आएका प्रचण्ड अहिले पनि विचारभन्दा बलकै सहारा लिएर पार्टीमा आफ्नो पकड कायम राख्न प्रयत्नशील देखिन्छन् । केन्द्रीय समितिलाई महाधिवेशन तयारी समितिमा रुपान्तरित गरेर ‘शक्तिशाली’ बन्नुभएका प्रचण्डले आगामी महाधिवेशन (यदि भयो भने)मा पनि बलकै आधारमा पुनः अध्यक्ष बन्न प्रयत्न गर्ने विश्वास गरिन्छ । प्रचण्डले लिने बलप्रयोगको नीति बाबुराम समर्थकहरूलाई सह्य हुने देखिँदैन । राज्य समिति र विभिन्न जिल्ला समितिहरूबाट प्रतिनिधि चयन गर्ने क्रममा दुई पक्षबीच टकराव र विवादको स्थिति पैदा हुनेमा शङ्का गर्नुपर्ने छैन । प्रतिनिधि चयन गर्ने क्रममा बलमिच्याइँ भएमा डा. बाबुराम भट्टराई पनि त्यसको प्रतिवाद गर्न बाध्य हुनुहुनेछ । त्यस्तो अवस्थामा बाबुराम भट्टराई आफ्नो दस्तावेजका साथ महाधिवेशनमा प्रस्तुत हुने निश्चित मानिन्छ । यसरी फरक दस्तावेज प्रस्तुत गर्नु भनेकै पार्टी नेतृत्वमा दाबी गर्नु हुनेछ । बाबुराम भट्टराईले आफ्नो नीति कार्यान्वयनको जिम्मा पनि आफैंले लिन खोजेभने त्यसलाई अस्वभाविक मानिने छैन ।
अहिले सरकारमा टिकिरहनका लागि बाबुराम भट्टराईलाई प्रचण्डको साथ–सहयोग चाहिएको छ । त्यसैले प्रचण्डको मन जित्न बाबुरामले ‘प्रचण्ड नेताहरूको पनि नेता’ भनिदिएकाछन् । आगामी माघ महाधिवेशन)सम्म बाबुराम भट्टराई नै प्रधानमन्त्री रहिरहेभने भट्टराईले पार्टी नेतृत्वमा धावा नबोल्लान्, यदि त्यसअघि नै सरकार छोड्नुपर्यो भने भट्टराईको ध्यान पूर्ण रुपले पार्टी महाधिवेशनमा केन्द्रित हुनेछ । भट्टराई महाधिवेशनतर्फ केन्द्रित हुँदा प्रचण्डलाई स्वतः चुनौति आइपर्ने देखिन्छ । जबकि आउँदो माघसम्म बाबुराम नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना ज्यादै कम छ ।
पार्टीबाट वैद्य समूह अलग्गिनुअघिसम्म प्रचण्डले वैद्य देखाएर बाबुरामलाई तर्साउने र बाबुराम देखाएर वैद्यलाई तर्साउने खेल खेल्दै आउनुभएको थियो । वैद्यको बहिर्गमनले प्रचण्डको एउटा महत्वपूर्ण अस्त्र गुम्न पुगेको छ । नारायणकाजी श्रेष्ठ बेलाबखतमा बाबुरामलाई चुनौति दिउँलाझैँ त गर्छन्, तर पार्टीमा तिनको हैसियत धेरै कमजोर भएकोले बाबुरामविरुद्ध नारायणकाजी–हतियारले काम गर्ने स्थिति छैन । लडाकुको बाहुल्य रहेको माओवादी पार्टीमा युद्धको नाम सुन्नेवित्तिकै झस्किने नारायणकाजी हास्य–व्यङ्ग्यको पात्रझैँ बनेका छन् । नारायणकाजीको साथले प्रचण्डलाई बलियो होइन राजनीतिक रुपमा झन कमजोर बनाउने सम्भावना रहन्छ । पार्टी कार्यकर्ता पङ्क्तिले नारायणकाजीलाई भुइँभुट्टाको रुपमा लिएको हुनाले पनि उनको साथ ‘प्रचण्डका निम्ति काउसो’ बन्ने देखिन्छ । त्यसैले आगामी महाधिवेशनपश्चात् डा. बाबुराम भट्टराई पहिलेभन्दा बलियो बन्ने सम्भावना छ । महाधिवेशनपछि पार्टी विभाजन भएन भने पनि बाबुराम भट्टराईको चाहनाविपरित पार्टी संचालन गर्ने हैसियतमा प्रचण्ड रहनुहुने देखिएको छैन । त्यस्तो अवस्थामा आफैं अध्यक्ष नभए पनि आफ्नो लाइनअनुरुप पार्टीलाई अघि बढाउने हैसियत भने बाबुराम भट्टराईले बनाउनुहुने सम्भावना बलियो भएको छ ।
Src-Ghatanarabichar
प्रतिक्रिया