अवैध मार्गबाट आउने कलप्रति सचेत रहन टेलिकमको आग्रह

अवैध मार्गबाट आउने कलप्रति सचेत रहन टेलिकमको आग्रह


विदेशबाट टेलिफोन कल आउँदा पछिल्लोपटक अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन आफ्ना ग्राहकमा नेपाल टेलिकमले अनुरोध गरेको छ । ‘विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहक गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुका साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन समस्त ग्राहकमा कम्पनी अनुरोध गर्दछ’– टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिनयता विभिन्न सेवाग्राहीलाई गरिएका कलमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अवैध कल नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ टेलिकमले थप सक्रियता बढाएको छ ।

नेपाल टेलिकमका मोबाइल तथा पिएसटिएन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैध मार्गबाट आएको र यसरी आएको कलको गुणस्तर कमजोर हुनुका साथै राजश्वसमेत छलिएको हुने टेलिकमको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्र्याक गर्न कठिन हुने भएकाले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुन्छ ।’ यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा फोन गर्दा शुल्क नलाग्ने १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु हुनसमेत टेलिकमले अनुरोध गरेको छ ।