मनाङमा लेक लागेर एक पर्यवेक्षकको मृत्यु

मनाङमा लेक लागेर एक पर्यवेक्षकको मृत्यु


प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनको अनुगमन गर्न हिमालपारीको जिल्ला मनाङ आएका पर्यवेक्षक उमेशकाजी श्रेष्ठको हाइ अल्टिच्युटका कारण मृत्यु भएको छ ।

चार हजार दुई सय मिटर हाइटमा रहेको मनाङको तिलिचो बेस क्याम्पमा उनलाई ‘हाइ अल्टिच्युट लागेको हो ।

भक्तपुरको मध्यपुरठिमी –११ का ४६ वर्षीय श्रेष्ठको लेक लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । मनाङका डीएसपी श्यामकृष्ण अधिकारीका अनुसार लेक लागेर बिरामी भएका श्रेष्ठलाई बिहीबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो ।
दिउँसो करिब पौने ३ बजेतिर महाराजगन्जस्थित शिक्षण अस्पतालमा श्रेष्ठको ज्यान गएको हो ।

उनीसहित ६ जना निर्वाचन आयोगसँग अनुमति लिएर साउथ एसियन पार्टनरसीप (एसएपी) नेपाल नामको संस्थाबाट निर्वाचन पर्यवेक्षणका लागि मनाङ आएको बुझिएको मनाङ प्रहरीले जनाएको छ ।

१० मंसिरमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि उनीहरू लमजुङ आएका र ११ गते मनाङ पुगेका थिए ।