कविता-आज बन्द छ

कविता-आज बन्द छ


-दाजु गुरूङ,
बोल्न पाइँदैन
हिड्न पाइँदैन
के भर तिमीले मेरै गीत गाउँछौ भनेर ?
के भर तिमीले मेरै बाटो हिँड्छौ भनेर ?
तिमो सुशेलीमा आफ्नै धुन हुनसक्छ
तिमो पदचापमा शान्तिको कवाज पनि हुनसक्छ
शान्तिको सुरिलो धुनले
निःसन्देह पदचापहरूले
दिग्भ्रमितहरूको निन्द्रा भङ्ग हुनसक्छ
किनकि उहाँहरू बुटका अवाज मात्र बुझ्नुहुन्छ रे !

बन्द छ-
बोल्ने भए बोल
हिँड्ने भए हिँड
तर तैयार भएर बसे हुन्छ –
बीच सडकमा बारूद पिउन ।

आज बन्द छ-
देख्न पाइँदैन
लेख्न पाइँदैन
मन भरिको आकाशमा मुनि खुलेको इन्द्र-धनुष
नीलो तलाउवीच फक्रेका कमलका फूलहरू
अनि इन्द्र-धनुषको क्यानभासमा;
कमलका पत्र-पत्रहरूमा
बुद्धका आकृतिहरू, स्वस्तिकका गीतहरू,
देख्न खोज्छौ होला
लेख्न खोज्छौ होला
तर उहाँहरूलाई सैहृय नहुनसक्छ
किनकि बारूदमा खेल्नेहरूलाई फूलको पत्रले बिजाउसक्छ रे ।

बन्दछ-
देख्ने भए देख
लेख्ने भए लेख
तर तैयार भएर बसे हुन्छ
लेख्ने औंलाहरू चिर्नलाई ।

आज बन्द छ-
चुल्हो जल्दैन
सडक खुल्दैन
प्रेम र सद्भावको उर्जाले मन भरिका चुल्होमा
हिँसा र बारूद पकाएर
नैर्सर्गिक हक र कर्मको गतिलाई उन्मुक्त बनाउने
सधैं-सधैं हिँसालाई निकास दिने खुल्ला सडक बनाउने चहाना होला !
तर उहाँहरूलाई बारूदको खेल र मेल छोड्न
निकासका सडकहरू खोल्न मिल्दैन रे !
किनकि हिसाँलाई सडक निकास चाहिँदैन रे !

बन्द छ-
चुल्हो बाल्ने भए बाल
सडक खोल्ने भए खोल
पौंठेजोरी खेल्ने भए
तैयार भएर बसे हृन्छ
ज्ञात-अज्ञातका लामो सूचीमा ।

बन्द- स्तब्द्धता गतिहीनता
विर्सजनशीलता अकर्मण्यता
बन्द, आक्र्रोश, प्रतिशोध, हिँसा; जे होस्
बन्द समयको गति रोक्ने दुष्प्रयास ।
तर उहाँहरू
बन्दै-बन्दको खेल खेल्नुहुन्छ रे !
बन्दमा मात्र भविष्य देख्नुहुन्छ रे !
अनि बन्दको खेती गर्नुहुन्छ रे !
त्यसैले त इतिहासले गलत सवित गरे पनि
गलत भन्न बन्द छ
विश्वास नलागे आफै हेर-
भोटे ताल्चा मारिएको छ
आज बन्द छ
सिर्जनाका चारै ढोकाहरू
वहसका थलोहरू
मुहान बग्ने सबै-सबै सडकहरू ।
[email protected]