पानी पर्न छाडेपछि विद्युत् उत्पादन घट्दै, व्यवस्थापनमा चुनौती

पानी पर्न छाडेपछि विद्युत् उत्पादन घट्दै, व्यवस्थापनमा चुनौती


मङिसरको दोस्रो सातासम्म पनि हिउँदे पानी नपर्दा र हिमालको हिउँ नपग्लँदा हिमनदीमा पानीको मात्रा कम भई ‘रन अफ द रिभर’ प्रणालीमा आधारित आयोजनाबाट गत वर्षको भन्दा कम्तीमा ५० मेगावाट बिजुली कम उत्पादन हुन थालेको छ । यसबाट नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली प्रभावित हुन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा पानीको मात्रा कम हुँदा ‘रन अफ दि रिभर’ प्रणालीका विद्युत् आयोजनामा विगत दस वर्षयता सबैभन्दा बढी प्रभाव परेको छ । गत वर्षको भन्दा यस वर्ष आकाशे पानी पनि कम परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्ष कात्तिक महिनामा तीन÷चार पटक वर्षा भएको थियो भने मङ्सिरको दोस्रो साता उच्च हिमाली क्षेत्रमा दुई पटकसम्म हिमपात भइसकेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यो वर्ष मङसिरको यो अवधिमा विभिन्न जलविद्युत् आयोजनाबाट कम्तीमा ५० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । प्राधिकरणको वितरण प्रणालीमा ठूलो योगदान दिने कालीगण्डकी, तल्लो मस्र्याङ्दी, मध्य मस्र्याङ्दीबाट मात्र कम्तीमा ४० मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । प्रवक्ता अधिकारीले भने, ‘कालीगण्डकीबाट मात्र यो समयमा गत वर्षको यो अवधिमा भन्दा २२ मेगावाट बिजुली कम उत्पादन भइरहेको छ । त्यसैगरी तल्लो मस्र्याङ्दी र मध्यमस्र्याङ्दीमा गरी २० मेगावाट कम उत्पादन भइरहेको छ ।

काली गण्डकीको पूर्ण उत्पादन क्षमता १ सय ४४ मेगावाट, तल्लो मस्र्याङ्दीको ६९ मेगावाट र मध् मस्र्याङ्दीको पूर्ण उत्पादन क्षमता ७० मेगावाट हो । हिमनदीमा आधारित यी तीनवटै आयोजनामा मात्र यति ठूलो मात्रामा विद्युत् उत्पादनमा कमी आएपछि भारतबाट खरिद गरेको टनकपुर प्रसारण लाइनबाट आउनुपर्ने बिजुली कटौती भएपछि प्राधिकरणलाई लोडसेडिङ व्यवस्थापन गर्न निकै चुनौती खडा भइरहेको छ ।

प्रवक्ता अधिकारीका अनुसार प्राधिकरणले जेनतेन व्यवस्थापन गरिरहेको छ । हालसम्म लोडसेडिङको समय फेरबदल गर्नुपरेको छैन । भारतबाट पनि ल्याउन नसकिने र हिमनदीमा पनि पानीको मात्रा कम हुँदै जाने दर बढ्दै जाने हो भने उपभोक्ताले यो हिउँदमा पनि बिजुलीको जथाभावी प्रयोग गर्न रोक्नुपर्ने, विद्युत् कम खपत हुने उपकरण प्रयोगमा ल्याउनुपर्ने स्थिति देखिएको छ ।

यो वर्षको हिउँदमा कम्तीमा एक हजार २ सय ५० मेगावाट बिजुलीको माग हुने अनुमान प्राधिकरणले गरेको छ । माग र आपूर्तिको स्थिति हेर्दा कम्तीमा ३ सय ५० मेगावाटको प्रसारण लाइनमा कमी देखिन्छ । यसलाई व्यवस्थापन गर्न प्राधिकरणको व्यवस्थापन पक्ष सबै विकल्पको खोजीमा लागिरहेको छ ।

हाल प्राधिकरणसँग भएको आयोजनाको कुल जडित क्षमता ४ सय ७८ मेगावाट हो । यसबाट चार सयदेखि ४५० मेगावाट आफ्नो उत्पादनबाट आउने अपेक्षा प्राधिकरणले गरेको छ । त्यसैगरी ४ सय ६० मेगावाट कुल जडित क्षमताका निजी क्षेत्रका आयोजनाबाट १ सय २० देखि १ सय ३० मेगावाट प्रसारण लाइनमा जोडिने अनुमान गरिएको छ भने भारतबाट ४ सय ५० देखि ४ सय ७० मेगावाट आयात गर्ने सके मात्र यो हिउँदमा लोडसेडिङको व्यवस्थापन गर्न सकिने प्रवक्ता अधिकारीले बताउनुभयो ।

गत वर्षझै यो वर्ष पनि हिउँदको समयमा घरेलु प्रयोगका लागि कुनै पनि समयमा लोडसेडिङ नगर्ने र औद्योगिक क्षेत्रमा साँझको समयमा औद्योगिक क्षेत्रका आधारमा केही समय लोडसेडिङ गर्ने योजना प्राधिकरणले बनाएको छ ।