उपसंहार
-सुमल कुमार गुरुङ,
विषय प्रवेश
आफुसँग रहेको सीमित धनलाई जुवाखेलमा च्याँखे वा दाउमा थापेर बढी धन उपार्जन गर्ने प्रलोभनमा धेरै मानिसहरुले घरखेत गुमाएको मैले आफ्नै जीवनकालमा देखेको छु । जुवालाई मनोरन्जनको साधन सम्झेर खेले तापनि मेरो बुझाइमा हाम्रो समाजमा यसले नकारात्मक असर अवश्य नै पारेको छ । यो लेखको माध्यमबाट केवल जुवाबारे छोटो जानकारी गराउने र यसको नकारात्मक प्रभाव बारे प्रकाश पार्न खोजेको मात्र हुँ । कुनै पनि व्यक्ति जसको जुवाप्रति झुकाव हुन्छ, उहाँहरुलाई निरुत्साहित वा होच्याउने अभिप्रायमा यो लेखको अभिव्यक्ति रहने छैन । प्राचीनकाल देखि मनोरन्जको लागि खेल्दै आउने जुवाखेल विभिन्न कालखण्डहरुमा स्वरुप परिवर्तन हुँदै अहिले धेरै राज्यहरुले समेत कानूनी रुपमा वैधानिकता दिएर राजश्व संकलन गर्ने गतिलो श्रोत बनाएको छ । राज्यले अनुमति दिएर संचालन गर्ने लाँटरी, घोडादौड, विभिन्न खेलहरुमा पैसाको एकआपसमा बाजी थाप्ने, आधुनिक क्यासिनो तथा अवैध जुवाघरहरुमा खेलिने जुवाहरु सबै यस बेलाको जुवा खेल हुन् ।
जुवाखेलको परिभाषा
ऐतिहासिक तथ्याहरुलाई नियाल्ने होभने जुवाखेल शुरु-शुरुमा मनोरंजनको साधनको रुपमा धनाढ्या व्यक्तिहरु, भारदारहरु र राजारजौटाहरुले खेल्ने गर्दथे । तर, जुवाखेल पछि आएर फौजीहरुले समय ब्यतित गर्ने मनोरंजनको रुपमा खेलिन थाल्यो । कालान्तरमा पछि समयको परिवर्तनसँगै सर्वसाधरणहरुबाट समेत खेल्न थालियो । हामी जुवाको परिभाषा यसप्रकार गर्न सक्छौं- “कम पैसा थापेर त्यसभन्दा बढी बनाउनको लागि व अनिश्चित बढी फाइदाको लागि भाग्य अजमाउने प्रक्रिया नै जुवाखेल हो” । इतिहास वा कथाहरुबाट प्राप्त सन्देशले हामीलाई जुनसुकै अवस्थामा पनि जुवाले नकारात्मक सन्देश दिएको पाउछौ । त्यसैले हिन्दीमा एउटा उखान नै छ – “जुवा कभी नहुवा” अर्थात् यसको भावार्थ भनेको जुवाबाट धन आर्जन कहिल्यै नहुँदो रहेछ । जुवाको लत लागेको मान्छेले कहिलेकाहीँ सर्वस्व हारेर आफूलाई र परिवारलाई समेत दाउमा राखेका कथाहरु उल्लेख छन् । जुवा मनोरन्जनसम्म सीमित रहन्छ भने त्यसले एउटा स्वास्थ्य मनोरन्जनात्मक वातावरणको सिर्जना गर्छ, तर, अन्तमा गएर यसको प्रभाव नकारात्मक नै हुन्छ भन्ने मेरो ठहर छ ।
मानव समाज र जुवा
नेपाली समाजमा जुवा एकप्रकारले सामजिक परम्परा स्वरुप अंगीकार गरिसकेको तथ्य प्रष्ट छ । विवाहको लगन देखि तीहारको महानपर्वमा जुवा खेल्ने प्रचलन हजारौंवर्षपहिलेदेखि नै चलिआएको वास्तविकता रहेको छ । वैदिककाल देखिको जुवा खेल्ने चलन तथा पुराणहरुमा वर्णन गरेका कथाहरुले नेपाली जनमानसमा जुवाप्रतिको लगाव र प्रभाव कति गहिरो छ भन्ने अनुमान सहजै गर्न सक्छौं । मेरो व्यक्तिगत धारणामा जुवालाई समाजले मनोरन्जनको रुपमा लिए तापनि नकारात्मक असर पारेको ठहर गर्छु । अनेक राष्ट्रहरुमा राज्यले राजस्व संकलन गर्ने ध्येयले जुन प्रोत्साहन जुवा खेललाई दिएको छ, यसबाट केही मान्छेलाई फाइदा हुनुबाहेक समाजको बृहत्तर हिस्सामा ठूलो क्षति पुर्याएको हुन्छ । मैले जीवनकालमा जुवाले मानिसलाई बौलाहासम्म बनाएको देखेको छु । यो घटना सन् १९९९ सालतिरको हो जतिबेला म हङ्गकङ्गमा थिएँ । त्यतिबेला म युनलोङ्गको ओइनाम स्ट्रिटमा सपरिवारसहित बस्दै आएको थिएँ । मैले बेलाबेलामा एकजना पागल आधाबैंसे चाइनिज मूलको मानिसलाई जकीक्लब छेउको मैला फ्याँक्ने ढ्वाङ्ग खोताल्दै त्यहाँ रहेको रद्दी टिकटहरु निकाल्दै, हेर्दै कहिले तर्सेजस्तै र कहिले खुशीको भाव अनुहारमा ल्याउँदै ङिच्च हाँस्दै, घोडादौड खेलको फालेका टिकटहरु खल्तीमा हाल्दै हतार-हतार यताउति हेर्दै बौलाहापन् देखाएको प्रायजस्तो देख्थेँ । मान्छेहरुबाट थाहा लाग्यो, त्यो मान्छे निकै पैसावाला थियो रे, सबै पैसा घोडादौडखेलमा लुटिएकोले यो हाल भएको भन्ने कुरा थाहा लागेको थियो । त्यस व्यक्तिको बिहानदेखि बेलुकासम्म त्यही प्रक्रिया दोहोरिरहेको हुन्थ्यो । आफ्नै पैसाबाट आफै पागल भएको उदाहरण मैले देखेँ । त्यसकारण विज्ञाहरुले धनको मुख कालो भन्छन् । मेरो जीवनको पूवार्द्धमा म जब सानै थिएँ, त्यतिबेला गाउँघरमा अहिलेको जस्तो तास र विभिन्न जुवा खेल्ने प्रचलन थिएन । त्यतिबेला जुवाको रुपमा त्रिपासा र कौडा खेल्ने चलन थियो । कतिपय मान्छेहरु जुवामा सर्वश्व हारेर मुग्लान पसेको सुनेको थिएँ । गाउँघरका फटाहा धूर्ताहरुले गाउँका सीधासादा किसानहरुलाई प्रलोभन र ब्याजमा पैसा दिएर जुवा खेल्न प्रोत्साहन गर्दथे र पछि गएर घरजग्गा हडप्ने कूटिल खेल खेल्थे । त्यसबेलाको माहौल यसरी बिग्रेको थियो ।
जुवाको इतिहास
जुवाखेलको अस्तित्व प्राचीनकालदेखि नै चलिआएको खेल हो । हिन्दू पुराणअनुसार दक्षप्रजापतिले सम्पूर्ण देवताहरु, आफन्तहरु र मित्रहरुलाई आफूले आयोजना गरेको महायज्ञमा अमन्त्रित गरेका थिए, तर, देवताहरुको देव, महादेव आफ्नै जुँवाइलाई अपहेलना गरी महायज्ञमा बोलाएका थिएनन् । स्वयं महादेवलाई यस कुराको अवगत थियो दक्षायनी अर्थात् आफ्नी पत्नी सतिदेवीलाई भुलाउनको लागि कैलाशमा जुवा खेलेर भुलाइ रहेकोबेला सतिदेवीलाई महायज्ञबारे थाह लाग्छ र आफ्नो पतिको अवहेलना र तिरष्कार सहन नसकी सोही महायज्ञको अग्निकुण्डमा हामफालेर आत्महत्य गर्छिन् । जुवाको प्रसङ्ग स्वयं भगवानसँग जोडिएको हुनाले यो कति प्राचीनकालदेखि जम्बुदीपमा प्रचलित थियो भन्ने कुरा सहजै अनुमान गर्न सक्छौं । नल दमयन्तीको कथादेखि लिएर द्वापर युग अर्थात्, महाभारतकालमा पाण्डव र कौरवबीच खेलिएको जुवाखेल आजसम्म प्राप्त अभिलेखमा सबैभन्दा ठूलो जुवाखेलको रुपमा हामी लिन्छौं । तर, जुवाखेलको ऐतिहासिक अभिलेख आजभन्दा लगभग पाँचहजार वर्ष पहिले चीनमा शुरु भइसकेको तथ्य प्रमाण प्राचीन ऐतिहासिक स्थलहरुको उत्खननबाट प्राप्त भएको छ । उत्खननबाट प्राप्त हात्तीको दाँतबाट बनेका दुइटा डाइस (पासा) अहिलेसम्म भेट्टाइएका सबैभन्दा प्राचीन जुवाखेलमा खेलिने सामंग्री रहेकोले सबैभन्दा पहिले चीनबाट जुवाको प्रचलन आएको हो भन्ने विश्व इतिहासमा अभिलेख रहेको छ । त्यस्तै लगभग ३५००-४००० वर्षपहिले मिश्रको गिजा क्षेत्रमा निर्माण गरेको पिरामिडभित्र एउटा पेटीमा जुवाबारे वर्णन गरेको एउटा अभिलेख प्राप्त भएको छ । रोम साम्राज्य र युनानको प्राचीन इतिहासमा पनि जुवाबारे उल्लेख भएका धेरै तथ्यहरु हामीले पाउँछौ । विभिन्न देशहरुको प्राचीन ऐतिहासिक वर्णनमा विभिन्न राष्ट्रहरुमा जुवाको प्रभाव र जुवाखेलले खेलेको अहम भुमिकाको वर्णनहरु पाउँछौ । जुवाको प्रसङ्ग आउँदा धेरै चाखलाग्दो र रोचक अभिलेखहरु इतिहासमा उल्लेख भएको पनि पाउँछौ । त्यस्तै एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक देख्छु । सन् १००० ताका युरोपका दुइटा राष्ट्रहरु नर्वे र स्वीडेनको बीच एउटा हिसिङ भन्ने जग्गालाई लिएर विवाद भइरहन्थ्यो र बेला बेलामा दुई देशबीच युद्ध चलिरहन्थ्यो । वास्तवमा त्यो ठाउँ उस्तो महत्वको थिएन र अलि ओझेलमा पर्दथ्यो । पटक-पटकको युद्ध र कुटनीतिक प्रयासमा पनि त्यस जग्गाको स्वामित्व कुन देशले भोग्ने भन्ने टुङ्गो नलागेपछि एक पटक दुबै देशका राजाहरुले जुवा खेल्ने प्रस्ताव स्वीकारे र जसले जित्छ त्यो क्षेत्र उसैको स्वामित्वमा रहने कुरामा सहमत भए । अन्तमा जुवा नरवेको राजाले जितेर त्यस जग्गालाई नर्वे राज्यमा सदाको लागि गाभिएको थियो ।
जुवाको प्रकारहरु
प्राचीनकालमा खेल्ने जुवाहरुमा त्रिपासा, पासा, कौडा शतरंज (बुद्धिचाल), घोडादौड र अन्य विविध जुवाका खेलहरु थिए । पासा र कौडाको पछि-पछि तास खेल जुवाको स्वरुप बन्दै आयो र अहिले नेपालको कुना-कुनादेखि राजधानीको तारेहोटलहरुमा तास जुवाखेलको रुपमा फस्टिएको छ । अब तासको प्रसङ्ग आउँदा सबैभन्दा पहिले तासखेल कहाँबाट आएको होला भन्ने जिज्ञासा आउन सक्छ । जसरी संसारमा सबैभन्दा पहिले चीनमा पासाको गोटी फेला पारे जस्तै तासखेल पनि चीनबाट नै शुरु भएको हो भन्ने अभिलेख पाउँछौ । किनभने संसारमा सबैभन्दा पहिले चीनियाहरुले कागतको आविस्कार गरेर कागतमा लेख्ने प्रचलन ल्याएका थिए । सम्राट कुब्लेइ खानको पालामा युरोपियन भ्रमणकारी मार्कोपोलो तेह्रौ शताब्दीमा चीन गएको बेलामा कागतको पैसा चीनमा प्रचलनमा आइसकेको कुरा मार्कोपोलोले आफ्नो चीन भ्रमनको वृतान्तमा उल्लेख गरेका छन् । यही चीनको प्राचीन तास खेलको स्वरुप अझ पनि हामीले चीनियाँहरुले खेल्ने महजोङ्ग खेललाई लिन सक्छौं । तासखेल बिस्तारै चीन हुँदै युरोप भित्रियो तर, आधुनिक तास खेलको शुरुवात गर्ने श्रेयभने फ्रान्सेलीहरुलाई जान्छ । फ्रान्सेलीहरुले तासमा पहिले रानी मात्र राख्ने खेलमा बादशाह राखेर फाल्तु जोकर मिलाएर आधुनिक तासको ५२ पत्तीलाई पूर्णता दिएका थिए । जुवाखेल पैसा वा वस्तु दाउमा थापेर पासा, कौडा र विभिन्न तरिका अपनाएर खेलिने खेललाई जुवा भन्छौं । यसर्थ, कुनै पनि बाजी वा खेल जसमा पैसा अथवा पैसाको बदलीमा बाजी जित्योभने कुनै वस्तुको फाइदा हुने आधुनिक जुवाखेल धेरै प्रकारका छन् । क्यासिनोभित्र टेबलमा राखेर खेलिने विभिन्न खेलहरु जस्तै तास पत्ति बाँडेर दुईजना वा बढी व्यक्तिहरु मिलेर खेल्ने खेल, विधुतीय खेल जस्तै पैचिन्को, स्लोट मेसिन र भीडीयो पोकर र समूहमा खेल्ने विंगो, केनो, लाटरीजस्ता खेलहरु र घोडादौड इत्यादि आधुनिक जुवाखेलहरु हुन् । खेलकुदमा राख्ने बाजी, पैसा थापेर खेल्ने सबै जुवाका स्वरुपहरु हुन् । वर्तमान संसारमा हामीले फुटबललगायत विभिन्न खेलहरुलाई जुवाको रुपमा प्रयोग गरेको पाउँछौ । कतिपय संसारका विख्यात शहरहरु जुवासँग जोडिएको पाउँछौं, उदाहारणको लागि मकाउ र लासभेगास । संसारका कतिपए राष्ट्रहरुले कानूनी मान्यता दिए तापनि समाजिक र धार्मिक दृष्टिकोणबाट संसारका कतिपए मुश्लिम राष्ट्रहरुमा जुवाखेल निषेध छ । बुद्ध धर्म, क्याथोलिक खृष्टियन र जिउज धर्ममा पनि जुवालाई असामाजिक कृयाकलापको रुपमा लिएको हुनाले जुवाखेललाई निषेध गरिएका छन् ।
जुवाबाट मानिस र समाजलाई पर्ने प्रभाव
· जुन ठाउँमा जुवा खेल्छ त्यस ठाउको बासिन्दलाई नकारात्मक असर पर्नुको साथै जुवाको लतले गर्दा दीर्घकालीन आर्थिक हानी ब्यहोर्नुपर्छ ।
· जुवा हार्ने क्रममा आफ्नो, परिवारको त्यसपछिर् इष्टमित्रहरुको र साथीहरुको पैसा गुमाउँछन् । अन्ततोगोत्वा अपरिचित र अरुलाई चोरी वा ठगने काम गर्दछन् ।
· अनुसन्धानले दिएबमोजिम तीन हिस्सामा एक हिस्सा जुवाडेहरु अपराधिक गतिविधिमा संलग्न रहन्छन् ।
· जुवाबाट मानिसलाई आर्थिक नोक्सानी मात्र नभई शारीरिक र मानसिक क्षतिसमेत पुग्दछ ।
· पारिवारिक सम्बन्घ जुवाको कारणले प्राय नकारात्मक रहन्छ र कहिलेकाहिँ सम्बन्धविच्छेदसम्म भएको देखिन्छ ।
· जुवाको लत लागेका मानिसहरुमा संवेदनशीलताको कमी हुनुको साथसाथै समयको मूल्य भुल्दछन् ।
· जुवाडेलाई उमेर बढ्दै गएपछि कुनै न कुनै रोगले ग्रस्त गर्दछ र यो रोग दीर्घकालीन बन्दछ ।
· जुवाले आउने भावी सन्ततीमाथि अप्रत्यक्ष नराम्रो प्रभाव पारेको हुन्छ र कतिपय स्थानहरुमा कलिलै उमेरदेखि जुवाप्रति लगाव रहेको पाइन्छ ।
· धेरैजसो समाजका आपराधिक गतिविधहरु जुवा र रक्सीको कारणबाट घटेका पाउँछौं ।
जुवा मनोरन्जनसम्म सीमित रहनुपर्छ र सकभर यसलाई निरुत्साहित गर्नु नै म राम्रो ठान्दछु । खेललाई खेलको रुपमा खेलेर स्वास्थ्य मनोरन्जन गर्नुपर्छ । जुवालाई कहिले पनि खेलसँग जोड्नु हुँदैन भन्ने मेरो मान्यता र विचार छ । स्वास्थ्य समाजको निर्माणको लागि जुवालाई हामीले त्याग्न सक्नुपर्छ ।
[email protected]
प्रतिक्रिया