‘हिन्दु अधिराज्य’ बचाउन शिवसेना नेपालले ऱ्याली आयोजना गर्ने

‘हिन्दु अधिराज्य’ बचाउन शिवसेना नेपालले ऱ्याली आयोजना गर्ने


‘हिन्दु अधिराज्य’ र राजसंस्थाको वकालत गर्दै आएको शिव सेना नेपालले दोस्रो आन्दोलन स्वरुप राजधानीमा आफूलाई देशभक्त दाबी गर्ने विभिन्न संगठनहरुको सहकार्यमा वृहत ऱ्याली आयोजना गर्ने भएको छ । निर्वाचन धोका भएको आरोप लगाउँदै शिव सेना नेपालले विरोधमा क्याम्पेनिङ गर्दै राजधानीमा ऱ्याली निकाल्न लागेको हो । भोली शनिबार पशुपति बनकालीबाट ऱ्याली सुरु गरी दरबारमार्ग पुग्ने शिव सेना नेपालले जनाएको छ । उक्त ऱ्यालीको नेतृत्व शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा)ले गर्ने बताइएको छ । नेपालमा हिन्दु राज्य र राजसंस्थाको बचाऊको निम्ति यसअघि पहिलो चरणको सातदिने आन्दोलन राजधानीमा सम्पन्न भएको थियो ।

अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरुसँग भने,’राष्ट्रको पहिचान र विदेशी हस्तक्षेपबाट जोगिने अचुक अस्त्र भनेकै हिन्दु पहिचान र राजसंस्था नै हो । देशको बारेमा नेताहरू चिन्तित छैनन्, विदेशीको एजेन्डा स्थापित गर्न नेताहरु तत्पर छन् । देशको अस्तित्व नै मेटिने भयो । निर्णय मान्छु भनेर राजाले दरबार त्याग्नुभयो । हिन्दुत्वमाथि आक्रमण हुँदा पनि उहाँले जनताको निर्णय स्वीकार गर्नुभयो । तर, देशको बारेमा नेताहरू चिन्तित भएनन् ।’

नेपालको जस्तो राजा र राजसंस्था विश्वमा कतै नभएको उदाहरण दिदै बस्नेतले परिस्थिति र जनताको अनुकुलतालाई बुझ्न सक्ने राजा भएकाले नै देशमा रक्तपात नभएको दाबी गरे । उनले थपे, ‘राजाले सत्ताको लोभ नै गरेको भए त जनआन्दोलनको नाम दिइएको ६२/६३ का बेला ५-७ लाख मानिस मर्न सक्थे । तर, राजाले जनताको इच्छा र चहानाका अघि दम्भ देखाउनुभएन । शक्तिको दुरूपयोग गर्नुभएन ।’

अहिले जारी भएको संविधान र यो निर्वाचन धोका भएको बताएका उनले इतिहासको विश्लेषण नगरी जनतालाई भ्रममा बाँधिएको दाबी गरे । राजासँग भएको सम्झौतामा धोकाधडी गरेर नेताले देश विदेशीको एजेन्डामा चलेको आरोप उनले लगाए । अध्यक्ष बस्नेतले भोली १६ शनिबारदेखि १८ गते सम्म निर्वाचनको विपक्षमा आफ्ना राजनीतिक अभियान पुनः थाल्न आफ्ना भातृ संगठनक प्रमुखहरुलाई विशेष निर्देशन दिँदै टाउकोमा कात्रो बाँधेर मृत्युभन्दा माथि उठेर देशद्रोहीहरुसँग लड्न निर्देशन दिए ।

यो देशको मालिक नेपाली जनतालाई आफ्नो धर्म र राष्ट्र बचाउनका लागि देशप्रेमी धर्मप्रेमी जनतालाई अनुरोध गर्दै आगामी २१ गते हुने चुनावमा कुनै पनि पार्टी लाई भोट नदिई आफ्नो धर्म निभाउन पनि उनले आग्रह गरे ।


– सुशील थापा