प्रदेश प्रमुखको नियुक्ति चुनावपछि

प्रदेश प्रमुखको नियुक्ति चुनावपछि


गत सोमबार गर्ने भनिएको प्रदेश प्रमुखहरूको नियुक्ति कारणवश केही दिन पछि सरेको छ । दोस्रो चरणको निर्वाचन बाँकी रहेका कारण निर्वाचनअघि नियुक्ति गर्दा विवाद आउने देखिएपछि नियुक्तिलाई थाँती राखिएको हो । प्राप्त जानकारीअनुसार यही मङ्सिर २१ गते दोस्रो चरणको निर्वाचन सकिएपछि सोही हप्ता प्रदेश प्रमुखको नियुक्ति गरिनेछ । प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति कार्य एकै दिन हुने सम्भावना छ ।

प्रदेश सभाका लागि पहिलो चरणको निर्वाचन सम्पन्न भए पनि प्रदेशका राजधानी कहाँ हुने हुन् अहिलेसम्म टुङ्गो लागिसकेको छैन । प्रायः सबै दलका उम्मेदवारले आफूले उम्मेदवारी दिएको जिल्लालाई प्रदेशको राजधानी बनाउने एजेण्डा बनाउँदै आएका छन् । यता प्रदेश प्रमुखले प्रदेशमा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने, समावेशी सिद्धान्तअनुरूप मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्ने, मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराउने, प्रदेश सभामा पेस भएका विधेयकको प्रमाणीकरण गर्नेलगायतका कार्यहरू गर्नुपर्नेछ । प्रदेश प्रमुख प्रदेशको सबैभन्दा महत्वपूर्ण ओहोदा हो । संविधानअनुसार मुख्यमन्त्रीले प्रदेश मन्त्री परिषद्का निर्णय तथा प्रदेश सभामा पेस गरिने विधेयक तथा प्रदेशको समसामयिक स्थितिका बारेमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी दिनुपर्नेछ ।