यस्ता प्रश्नको जवाफ कसले दिने ?

यस्ता प्रश्नको जवाफ कसले दिने ?


नेपाली काङ्ग्रेसको १३औँ अधिवेशनको पूर्वसन्ध्यामा कोइराला प्यानलबाट को उम्मेदवार हुने भन्नेमा घनघोर बहस भएको थियो । सुशील कोइराला आफैँ उम्मेदवार हुन खोज्ने, तर विदेशी एजेन्सी मान्दै नमान्ने ! उनलाई पुनः सभापति भएको हेर्नै नचाहने बाह्यशक्ति सल्बलाएको थियो ।

समस्या निराकरणार्थ सुशील कोइरालाको मुखबाट दोस्रो पुस्ताका पूर्वतिरका कुनै एक उम्मेदवार, जसप्रति नजिकका छिमेकीको पनि पूर्ण विश्वास थियो, उनको नाम घोषणा गराउन खोजियो । तर, कोइरालाले ज्यान गए मानेनन्, आफूबाहेक अरू हुन्न भन्ने उनको अडान रह्यो । आफू निर्वाचित सभापति बनेर शशांक कोइरालालाई ‘कार्यबाहक’ दिने निचोडमा उनी पुगेका थिए ।

यस क्रममा अचानक एक रात नेपालगञ्जमा रहेका सुशीलको भाइको घरमा ‘सुशील–निवास’बाट फोन जान्छ– दाजुलाई जरो आएको छ । स्वाभाविक हो कि निमोनिया भएको मानिसलाई ज्वरो आउँछ नै । पुनः २ घन्टापछि नेपालगञ्जमा फोनको घन्टी बच्छ कि दाजुलाई चिटचिट पसिना आइरहेछ । त्यो पनि स्वाभाविक हो, ज्वरो आएको मानिसलाई पसिना नै आउँछ । त्यसको केही घन्टापछि पुनः नेपालगञ्ज फोन जान्छ– दाजु बित्नुभयो !

प्रश्न सुशील कोइरालाको देहावसानको होइन, सुशीलको देहान्तको दिन मात्रै हरेक घन्टाको रिपोर्टिङ नेपालगञ्ज किन भयो र उपचारको प्रभावकारी भूमिका निर्वाह हुन किन सकेन ? यस सन्दर्भलाई सामान्य रूपमा मूल्याङ्कन गर्न सकिँदैन ।

सुशील कोइरालाको मृत्युपछि उनको मुखमा रगत आएकोलगायत विभिन्न चर्चा–परिचर्चा चल्यो । रगत आउने दुई कारण हुन सक्छ– बाहिरी चोट वा आन्तरिक रक्तश्राव । आन्तरिक रक्तश्रावका दुई कारण हुन सक्छन्– गम्भीर सङ्क्रमण वा निमोनियाको बिमारीलाई ओभरडोज एन्टिबायोटिक दिनु । जसको कारण फोक्सोले औषधिको वेग थाम्न नसकी मुखबाट रक्तश्राव हुन्छ । त्यस समय सुशील कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ योगी थिए । घट्टेकुलोमा चल्दै नचलेको नेसनल मेडिकल कलेज चलेको प्रमाणित गरी उनी विवादमा आएको धेरै समय भएको छैन ।

देशको ‘ठूलो’ नेताको शङ्कास्पद मृत्यु हुँदा पोस्टमार्टम गर्ने, भिसेरा परीक्षण गर्ने प्रयास कसैबाट भएन । कारण ? नेपाली काङ्ग्रेसको महाधिवेशनमा कोइराला गुट सखाप गरी शेरबहादुर गुट जिताउने कुनै एजेन्सीको ‘महान्’ अभिप्सा थियो भन्ने सुनिन्थ्यो, भयो त्यही ।

अब ताजा सन्दर्भमा आऔँ । सुशील कोइरालाको विशेष अग्रसरतामा बनेको नयाँ संविधान कार्यान्वयन गर्ने उत्कर्ष–अवस्था, अर्थात् प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा वाममोर्चाका शीर्षनेता प्रचण्डका पुत्र प्रकाश दाहालको अकस्मात् मृत्यु भयो । जम्मा ३६ वर्षको उमेरमा उनको हृदयाघातबाट मृत्यु भयो । घटना हुनु एक महिनाअघिसम्मको फेसबुकमा डाउनलोड गरिएको प्रकाश दाहालका तस्बिर नियाल्दा उनको वास्तविक उमेरभन्दा निकै बढी उमेर झल्किने अनुहार देखिन्छ । आँखामुनिका भाग सुन्निएको, गालाको आकार अस्वाभाविक रूपमा उक्लिएको देखिन्छ ।

यसबाट प्रकाशको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण रहेको अनुमान लगाउन कठिन पर्दैन । मृत्युको दुई दिनअघिसम्म प्रकाशले सन्तुलित आहार जाउलो खाइरहेको समाचार प्रकाशमा आएबाट उनको मृत्यु ‘शरीरमा अस्वाभाविक परिवर्तन गराउने कारकतत्व’बाट भएको त थिएन भनी शङ्का गर्न सकिने आधार भेटिन्छ । विश्वविख्यात व्यक्तित्व आचार्य रजनिशलाई अमेरिकी हिरासतमा राख्दा कुनै तत्व (मन्द विष) सेवन गराई निश्चित अवधिपछि देहान्त भएको भनी प्रचलित सन्दर्भ यहाँनेर स्मरणीय हुन आउँछ ।

देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको परिवेशमा राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने खालको मृत्युको वैज्ञानिक परीक्षण ‘पोस्टमार्टम’ किन गरिएन ? प्रकाश प्रचण्डका छोरा मात्र नभई यो देशको नेतृत्व गर्ने भूमिकामा रहेका एक शीर्षनेताका ‘उत्तराधिकारी’ अनि एक नेपाली नागरिक थिए । एक नेपाली नागरिकको असामयिक प्रकृतिको मृत्युमा अध्ययन–अनुसन्धान हुनुपर्ने हो–होइन ?

– एजी शर्मा, काठमाडौं