मंसिर अन्तिम साता चौथो पर्वतीय महोत्सव

मंसिर अन्तिम साता चौथो पर्वतीय महोत्सव


पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चौथो पर्वतीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ ।

विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, भेषभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो ।

साहसिक खेल चट्टानारोहणलगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए ।

जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरण र पैदलयात्राको वर्तमान अवस्थाबारे सन्देशमूलक कक्ष पनि रहने सङ्ग्रहालयका प्रमुख बलप्रसाद राईले जानकारी दिए । राससका अनुसार एक दशकदेखि बनाएर सञ्चालनमा आएको सङ्ग्रहालयमा विश्वका हिमालमा आजसम्म भएका गतिविधि र हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको प्राचीन जीवनशैली झल्कने सामग्री प्रदर्शन गरिएको छ ।