हड्तालमा भाग लिन आएकाहरुबाट हतियार बरामद

हड्तालमा भाग लिन आएकाहरुबाट हतियार बरामद


केपी ढुंगाना, काठमाडौं । माओवादीद्वारा घोषित आमहड्तालमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी प्रर्दशनकारीवाट हतियार बरामद भएको छ। प्रहरीले नयांबजार, मुड्खु र मैतिदेवीवाट हतियार सहित ६ जनालाई पक्राउ गरेको छ। शिविरका २ जना लडाकु हतियारसहित समातिएका छन्।

प्रर्दशनमा सहभागी हुन उपत्यका भित्रिएका माओवादी कार्यकर्ता हतियार हुने आशंकामा प्रहरीले चेकजांज गर्नेक्रममा बेलुका सात वजे नयाँबजारमा खुकुरी सहित तीन जनालाई पक्राउ गरेको थियो। प्रहरीले काभ्रे भकुण्डेबेशीका बर्ष १७ को मनोज मगर, ईलाम चुलाचुलीका बर्ष १६ को प्रतिक राई र बर्ष २० को राजन राईलाई खुकुरी, तरवार सहित पक्राउ गरेको हो।

प्रहरीले विहान आठ वजे मैतिदेवीमा रेन्बो चक्कु सहित एक जनालाई पक्राउ गरेको थियो। समुहमा सुन्धारावाट देखी मैतीदेबी जानेक्रमा प्रहरीले गरेको चेकजांचको क्रममा काभ्रे मनखुका निर्मल थापाको साथबाट रेम्बो चक्कु बरामद भएको थियो।

महानगरीय प्रहरी प्रभाग मुडखुको टोलिले ना १६ प १७७५ कालो पल्सर मोटर साईकलमा आएका नुवाकोट जिल्ला घर भई चितवन प्रताप स्मृति बिग्रेड क्याक्टेनमेन्ट बस्ने बर्ष २७ को मुकुन्द केसी र बर्ष ३५ को कृष्ण बहादुर तामाङ्गलाई खुकुरी सहित पक्राउ गरेको छ।

प्रर्दशनमा आएका माओवादीवाट हतियार बरामदको घटना बढेपछि प्रहरीले चेकजाँच बढाएको छ। काठमाडौं प्रवेश गर्ने नाकाहरुको प्रहरी निरिक्षक र असई खटिने गरेपछि बैशाख १६ गतेवाट डिएसपीको कमान्डमा प्रहरी टोली खटाईएको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार उपत्यकाका सबै इकाई प्रहरी प्रमुखहरुलाई’झोला सहितका नयां अनुहारका ब्यक्तिलाई अनिवार्य रुपमा चेक गर्न निर्देशन दिइएको छ।

काठमाडौंभित्र प्रहरीले बुधवार पांच तारे होटल र क्यासिनोहरुमा छापा मारेको थियो। प्रहरी स्रोतका अनुसार क्यासिनोमा हतियार भन्डारण गरिएको गोप्य जानकारीको आधारमा काठमाडौं परिसरको टोलिले स्थानीय प्रहरी युनिटले उपत्यकाका प्रमुख क्यासिनो र होटलमा छापा मारेको थियो। छापामा संलग्न एक प्रहरीले भने’जानकारीको आधारमा सबै कोठाभित्र पुगेर छापा मारियो तर, केही फेला परेन।’काठमाडौं परिसर प्रमुख रमेश खरेलले काठमाडौंका होटल,लज र अन्य शंकास्पद क्षेत्रको पहिचान गरी छड्के चेकजाँचलाई तिब्र बनाएको बताए। उनले भने’चेकजाँचकोक्रममा केही हतियार समेत बरामद भएकाले थप प्रहरी शक्ति परिचालन गरिरहेका छौं।’

श्रोत: नागरिक न्यूज