-ईश्वर चाम्लिङ,
नेपालको चर्चित पर्यटकीय स्थल जोमसोम, त्यस्तै चर्चित आस्थाको केन्द्रविन्दु मुक्तिनाथ । सन्दर्भ जोमसोम-मुक्तिनाथको साथ नेपाली चलचित्र जगतको एक धरोहर नायक धिरेन शाक्य र निर्देशक मिलन चाम्ससँगको । धिरेनदाइ आफैमा एउटा नेपाली कला-नक्षेत्र, चलचित्रको पर्दाहरूमा धेरै पटक देखेको, तर मैले मनदेखि मानेको नायक उहाँलाई करीब ३ वर्षअगाडि मात्र बेलायतमा साक्षातकार गर्न पाएको थिएँ । हिरो मान्छे, जताततै फ्यानहरू, त्यहाँ पनि उहाँको धेरै क्रेजी फ्यानहरू छन् । चलचित्र, म्युजिक भीडीयो, भेटघाट आदिको सन्दर्भ लिएर उहाँ बेलायत आइरहनुहुन्थ्यो । बेलायतमा हाम्रो रमाइलो भेट भइरहन्थ्यो । मलाई लाग्छ, सायद यस्तै क्रममा उहाँसँग कलाकरिताको सम्बन्ध गाँसिएको हुनसक्छ प्रवासका चर्चित निर्देशक मिलन चाम्सको । मिलन चाम्स् प्रवास, विशेष गरेर बेलायतको जल्दाबल्दा म्युजिक भीडीयो निर्देशक, दुई चलचित्र “वास्तविकता” (सह-निर्देशक) र “पश्चाताप” सहित तीन दर्जनभन्दा बढी स्तरीय म्युजिक भीडीयोहरूका निर्देशक हुन । ति म्युजिक भीडीयोहरूमध्ये ५ उत्कृष्ट म्युजिक भीडीयोहरू खास त केही छैन, तिमी बाटो तिमी यात्रा, जिन्दगीको सहारालाई, माया लजालु मेरी माया, साउने झरीले रुझायो मा धिरेनदाइको अभिनय रहेकोछ । जुन म्युजिक भीडीयोहरू मैले धेरै पटक दोहोर्याएर हेरेको छु र लाग्छ म जस्तै अरु धेरैहरूले पनि त्यसो गरेका होलान ।
हाम्रो अहिलेको सह-यात्रा काठमाण्डौदेखि जोमसोम र मुक्तिनाथ सम्मको, यो बसाइमा म पनि थोरै साथ दिन खोज्दैछु कलाकारिताका यी दुई चम्किला ताराहरूलाई । मनमा एक किसिमको उत्साह जागेको छ । यो सुन्दर ठाँउ, यी सिर्जनशील मनहरू, दुई-चार शब्द किन नजोडौं म ? यसै भन्दै छ मेरो मनले । उत्साहित मनले धकेल्दै छ मलाइ र म बसेको छु, यो सानो टिपोट तयार पार्न । जोमसोमै बजारमा १२ बजे हावा सरर…..कसैले गाएको गीतमा सुनेको थिए । गाउनलाई मिलाएको होला भन्ठानेको थिएँ, गाउनलाई मात्र मिलाएको होइन रहेछ । यो त यथार्थ रहेछ । हावा सर.र.र. मात्र हैन हुइर्.इ., हुइर्.इ…हुरु.रु.रु.रु.रु चलिराख्दो रहेछ । हिमाली सौन्दर्यताको राजकाज भएको जोमसोममा एककिसिमले एकै दिनमा तीन खाल्के मौसम-बदलि हुँदोरहेछ । विहानी केवल विहानी मात्र हैन सुन्दर विहानी भएर उदाउँदो रहेछ दिन । पारिलो न्यानो घाम चौतर्फी मनमोहक दृष्य, त्यसै-त्यसै फुरुक्क खुशी छाउँदो रहेछ मनमा । मध्यदिनदेखि मौसम बतासे दिन भएर बदलि हुँदोरहेछ । प्राय सबै घरभित्रै बस्दा रहेछन् दिउँसो । अनि दिन ढल्दै गए पछि चिसो हावासँगै तापक्रम घटेर हिउँदको साँझ भएर सकिँदो रहेछ दिन । हावाले गर्दा आँखा चिम-चिम, चिम-चिम चिम्लँदै हिँड्नु पर्ने, त्यसकारण दिउँसो कतै गइएन । नुनथलाको चिया बिर्साउने जोमसोमे चियाको चुस्कीसँगै होटलमै गप्फियौं । गप्फिने क्रम तथा उपक्रमहरू चलिरह्यो । अनौपचारिक कुराकानीका केही कुराहरू म सुटुक्कै डायरीमा टिप्दै रहेँ । मिलनका कुराहरू, धिरेनदाइका कुराहरू । संस्थागत हैसियतमा धिरेनदाइ उपाध्यक्ष हुनुहुँदोरहेछ, नेपाल चलचित्र कलाकार संघको अनि व्याबसायिकतामा कलाकारिताको अपरिहार्यता पूर्ति गर्ने जस्मिन फिल्मस् प्रा.लि.रेन्टिङ्ग एण्ड सेलिङ्ग कम्पनिमा ब्यस्त हुनुहुँदोरहेछ । अरुहरूले झैं मैले पनि “आजसम्म कतिवटा फिल्मस् खेलिसक्नु भयो हौ दाजु ?” भनेर सोधेको थिएँ…. सिमाना, कर्जा, भिष्मप्रतिज्ञा, रणभूमि, राजकुमार, देशपरदेश, दाग, सौभाग्य लगाएतका करीव नब्बे-पन्चानब्बे फिल्मस् खेलिसक्नु भएको रहेछ उहाँले । चिनो, कन्यादान, कलंक, अचानक को सुटिङ् सिद्धिसकेको रहेछ । भुल्नै सकिनँ शिर्षकको अर्को चलचित्रको भने सुटिङ्ग चलिराखेको रहेछ । चलचित्र चिनोको निकै चर्चा चलेको थियो । चिनोमा हामीले नायक धिरेन शाक्यलाई जोमसोमकै परिवेशमा देख्न पाइने रहेछ । उहाँले त्यस फिल्मस् माथि निकै आशा पनि राख्नु भएको रहेछ । फिल्मस् को ल्याबको काम सकिने साथ चिनोलाई बेलायत लैजाने मनोभावना पनि मैले बुझेँ । भाग्यमानी बेलायतबासी नेपालीहरू, यहाँहरू नै चिनोको पहिलो दर्शक हुनुहुने रहेछ । म्युजिक भीडीयोको प्रसँग चल्दा चाम्स् फिल्मस् प्रोडक्सन प्रा.लि.को ब्यानरमा मिलनकै निर्देशनमा निर्माणाधीन म्युजिक भीडीयो रातै रगतको खोला बगायौ तिमीले जहाँ, रातै फूल पप्पि फूलेको रहेछ त्यहाँ …. वीरताको गीतको पनि चर्चा चल्छ । यो गीत म आफैले लेखेको कारण मिलनको यस प्रोजेक्टको बारेमा मलाई पनि धेरै अवगत छ । अथवा यसो भन्दा धेरै सान्दर्भिक होला, यो हाम्रै प्रोजेक्ट हो । एउटा सिपाही साथीले वीरगति प्राप्त अरु सिपाही साथीहरूका खातिर के नै गर्न सकिन्छ र ? सन्दर्भ मिल्दा सम्झनु र उहाँहरूले दिनुभएको बलिदानलाई सम्मान गर्नुबाहेक । लेख्दालेख्दै मेरो साथी (गुरुजी) सार्जन्ट सुरेन्द्र लिम्बूलाई सम्झन्छु । उहाँको आर्थिक, नैतिक र धेरै भावनात्मक सकृयता नभएको भए यो गीत रेकर्डिङ्ग गराउने मेरो त्यति चासो नै थिएन । लेखिएका गीतहरूलाइ रेकर्डिङ्ग गराउने रहर त कुन गीतकारलाई नहोला र ? तर सन् २००४ मा जब मैले मेरो गीतहरूको संकलन गीति एलबम “स्पन्दन” निकालेँ, त्यसपछाडि त्यो मन एककिसिमले भाँचिएको छ मेरो । अहिले यही गीतको ऐतिहासिक भीडीयो निर्माणको मध्यक्रममा छ मिलन, अर्का सकृय साथी (गुरुजी) तरुन कुमार सुनुवारलगायत इनटेक ९३ को आह्वानमा, सौजन्यतामा । म मेरो भावनाले पाएको यी सम्मानित साथहरूलाई कहाँ बिर्सनु सक्छु र ? नीलगिरी पल्लो डाडाँ भएर हाम्रो गफको अटल साक्षी बसेको भान हुन्छ मलाई । नीलगिरीका हिँउ टल्किराखेको छ । उनको उपस्थिति घरि-घरि घामको किरण आँखामा टक हानेर गराउँछ मलाई । गीतको चर्चा चल्दै जाँदा, मोबालमा बजाइएको गीत सुनेर होटलबाला दाइको छोरी करिश्मा नजिकै आएर हाम्रो कुरा सुन्छिन् । “भीडीयो गीतमा अभिनय गर्ने इच्छा छ ?” मिलन एउटा अप्रत्यासित प्रश्न फ्याँक्छ उनलाई । मिलनको निर्देशनमा निर्माणाधीन अर्को म्युजिक भीडीयोको पनि हल्का चर्चा चल्छ । जोमसोम बजारलाई हामीले तीन-चार फन्को लगाइसकेका छौं । केही ठूलाघरहरू धेरै साना एकतले घरहरू, हरेक घरका छानामा दाउराका चाङ्ग, बजारलाइ चिर्दै बग्ने कालीगण्डकी, पारि बजार र वारि बजारलाई जोड्ने एउटा काठे पुल अनि एउटा झोलङ्गे पुल यति देखेँ मैले । नीलगिरी हिमाल र धौलागिरी हिमालको काखबाट छिरेको एउटा सानो हिमाली उपत्यका पल्लो छेउमा हवाइ मैदान, बजारलाइनको दाँया-बाँया अग्ला-अग्ला हिमाली पहाड यस्तै आकृति देखेँ, नेपालीहरूले भन्दा बिदेशी पर्यटकहरू मायाले मनमा सजाएको जोमसोम बजार । कालीगण्डकी पुल पारि बजारबाट मुक्तिनाथ जाने जिप चढ्नु पर्ने रहेछ । हिमाली डाँडै-डाँडा, भिरालोबाटो, साँगुरोबाटो मुक्तिनाथ बजार पुगे पछि मिलनलाई लेक लागेर निक्कै साह्रो पारेको थियो । मलाई पनि सास फेर्न अलि असजिलो भएको थियो । धिरेनदाइले हामीलाई खुब लसुन खुवाउनु भयो । फोटो खिँच्नुको उल्लास, मनमोहक दृष्य देख्नुको हतार लेक लागेको त्यति ख्यालै भएन । एक सय आठ धारामा नुहाउनु पर्ने, डुबेर पोखरीको पैसा निकाल्नु पर्ने जस्ता सर्वमान्य पृथक संस्कार रहेछ यो मन्दिरको । धेरै लेक लाग्ला भन्ने डरले मुक्तिनाथ बजारमा धेरै रहेनौँ । जिपबाट जोमसोम आरालो लाग्दै गर्दा मिलन र धिरेनदाइको यी मनमोहक दृष्यहरूलाई पर्दामा कसरी उतार्न सकिन्छ ? यस्तै भावी योजनाको चर्चा भएको सुन्छु । जिपको झ्यालबाहिर कुनै हलिउड चलचित्रका पर्दा जस्तै भएर आउने ती दृष्यहरूमाथि मेरो पनि यस्तै कुराहरू मनमा खेलिराखेको थियो । जोमसोमको गफमा यो प्रसँग पनि निस्कन्छ । मिलनको हल्का प्रस्ताब म्युजिक भीडीयोकै आउँछ, कुरालाई साथ दिनुहुन्छ धिरेनदाई र म पनि समर्थन जनाउँछु । निकट भविष्यमा नै फेरि गहन प्रोजेक्ट लिएर र्फकने कुरामा हामी सबै सहमत हुन्छौँ । कता-कता चन्द्रमाको भव्य यात्रामा छु जस्तो भान हुन्छ मलाई र फेरि कुनै प्रोजेक्ट नै लिएर र्फकने प्रतिवद्वताप्रति केही खुशी हुन्छ मेरो मन । यस्तै अनमोल अनुभूत हो रहेछ हामीले लिने जोमसोममा, जुन अनुभूत न मैले बेलायतको स्कटल्याण्डमा लिएको थिएँ ? न त न्युजिल्याण्डको माउन्ट कुक चढ्दा नै लिएको थिएँ । यस्तै अनुभूत दिलाउन सक्नु नै मुख्य प्रभाव रह्यो जोमसोमको मेरो लागि । आफ्नो भन्नु आफ्नै हुँदो रहेछ । कहाँको न्युजिल्याण्ड ? कहाँको स्कटल्याण्ड ? र कहाँ मेरो नेपाली जोमसोम । मार्फाली स्याउको रक्सी, च्याङ्ग्राको सुकुटी र यी सबै मनमोहक दृष्यहरुलाई बाइ-बाइ भन्दै भोलि त पोखरा झर्नुछ । फ्लाइट पो आउला कि नआउला !
२९ मार्च ०१०, जोमसोम
प्रतिक्रिया