नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा आतंकवादी आक्रमण हुने आशंका गरिएको छ । आक्रमण हुने आशंकालाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिका, अस्टे्रलिया, क्यानडा र बि्रटेनले आफ्ना नागरिकलाई दिल्लीयात्रामा सतर्क रहन आग्रह गरेका छन् । चरमपन्थी संगठनले भारतमा हमलाको योजना बनाइरहेको अमेरिकी दूताबासले जारी गरेको चेतावनीमा उल्लेख गरिएको छ ।
नयाँदिल्लीका चादनी चौक, कन्नाटप्लेस, करौल बाग, महरौली र सरोजनी नगरलगायतका स्थानमा आक्रमण हुन सक्ने अमेरिकी दूताबासले जारी गरेको चेतावनीमा उल्लेख छ ।
नयाँदिल्लीका यी स्थानमा अमेरिकीलगायत पश्चिमी नागरिक बढी जाने गर्छन् । अमेरिकी दूताबासले जारी गरेको चेतावनीमा कुनै अज्ञात प्याकेट वा झोला देखेमा तुरुन्त अधिकारीलाई सूचना दिन पनि आग्रह गरिएको छ ।
यसै वर्षको नोभेम्बरमा दिल्लीमा राष्ट्रमण्डल खेल हुँदै छ । कैयौँ देशले राष्ट्रमण्डल खेलको समयमा हुने सुरक्षाको चिन्ता व्यक्त गरेका छन् । तर, भारतले राष्ट्रमण्डल खेलको अवसरमा दिल्लीमा पूर्ण सुरक्षा दिने आश्वासन दिएको छ ।
केही समयअगाडि मात्रै गृह मन्त्रालयले दिल्लीको सुरक्ष्ााको पूर्ण प्रबन्ध गर्न लागिएको बताएको थियो । पूर्ण सुरक्षा प्रबन्ध मिलाउन विदेशी सुरक्षा एजेन्सीको पनि सहयोग लिने गृह मन्त्रालयले जानकारी दिएको थियो ।
श्रोत: नयां पत्रिका
प्रतिक्रिया