शान्त र समृद्ध नेपाल-हाम्रो साझा सपना

शान्त र समृद्ध नेपाल-हाम्रो साझा सपना


-कृष्ण पाण्डे,
विश्वव्यापी सञ्जाल निर्माणका क्रममा गैरआवासीय नेपाली संघ ५५ मुलुकमा बिस्तार भइसकेको छ । यससँग सम्बद्ध लाखौं गैर आवासीय नेपालीलाई जस्तै एक जिम्मेवार सदस्यका नाताले यस संस्थाप्रति मलाई पनि गर्व छ । आधारभूत मानवाधिकार प्रति प्रतिबद्ध एक जिम्मेवार संस्थाको गठन हुनुपर्ने आवश्यकताबमोजिम एक स्वतन्त्र, गैरनाफामुखी, गैरराजनीतिक, गैरसरकारी चीरस्थायी संस्थाको रुपमा गैरआवासीय संघलाई व्याख्या गरिएको छ । यसै परिभाषालाई आत्मसात गर्दै विश्वभर छरिएका २५ लाख गैर आवासीय नेपालीलाई गोलबद्ध गर्नु हाम्रो सामूहिक चुनौती हो । ‘नेपालीका लागि नेपाली’ भन्ने हाम्रो मूलमन्त्रलाई आत्मसात गर्दै चौंथो गैरआवासीय नेपाली विश्व सम्मेलनले सुन्दर, शान्त र समृद्ध नेपालका लागि विश्वभरका गैरआवासीय नेपालीलाई थप हौसला प्रदान गर्नेतर्फ अग्रसर गराउनेमा म विश्वस्त छु ।

अन्तर्राष्ट्रिय गैरआवासीय संगठन, हङकङ प्रतिनिधिका नाताले आफ्नो क्षेत्र र चौंथो गैरआवासीय नेपाली विश्व सम्मेलनको सेरोफेरोमा हङकङको पृष्ठभूमि र समसामयिक अनुभवहरु मेरो लेखका विषय हुनेछन् ।

हङकङ संसारकै उत्कृष्ट व्यापारिक थलोहरुमध्ये एक हो । सन् १९९६-१९९७ पछि स्थायी रुपमा हङकङ बस्ने नेपालीहरुको संख्या बाक्लिएको हो । गणितीय हिसाबले हाम्रो बसाइको इतिहास गोर्खा सैनिक ब्यारेक पछिको समयपश्चात् खासै लामो नभए पनि तुलनात्मक रुपमा यहाँका अन्य अल्पसंख्यकहरुका तुलनामा हामीले गति लिन नसकेको भने तीतो यथार्थ हो । तथापि पछिल्लो समयमा हङकङमा गैरआवासीय संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङ जस्ता गरिमामय संस्थाहरुको उपस्थितिले धेरै कामहरु भएका छन्, जसले थप आशाका किरणहरु देखिएका छन् । यद्यपि यहाँको नेपाली समाजलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने यी दुबै संस्थाको कार्यगत एकता सोचेजति अघि बढ्न नसकेको अर्को तीतो सत्य हो । तर कार्यगत एकता र हाम्रा सामूहिक लक्ष्य एउटै हुनपर्छ भन्ने प्रतिबद्धता भने अवश्य भएको छ । जो स्वयंमा सुखद पक्ष हो । अधिकंाश गैरआवासीयहरु व्यवसाय गरी जोखिम मोल्नुभन्दा दश, बाह्रघण्टा परिश्रम गरेर निश्चित पारिश्रमिकबाट सन्तुष्ट हुनेतर्फ अग्रसर छन् । यस्तो अवस्थामा देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्य बोकेका दुर्इ संस्थाले व्यापारिक गतिबिधिहरु बढाउने मात्र होइन, सर्वसाधारणलाई समेत यसतर्फ आकर्षण बढाउन विशेष पहल गर्नुपर्छ । यस चीनिँया भूमिमा स्थानीय नागरिक सरहकै अधिकार हासिल गरेका झण्डै २५ हजार नेपाली चुनौती सँगसँगै हरेक पक्षमा आफूलाई सबल बनाउन सकेको खण्डमा यहाँ धेरै फड्को मार्न सक्ने सम्भावना छ । विगतमा हाम्रा पुर्खाले यस भूमिमा देखाएका वीरता, जनविश्वास र शानलाई व्यापारिक क्षेत्रमा परिवर्तित गरी गोर्खाली अन्य क्षेत्रमा समेत उत्तिकै सबल छन् भन्ने सावित गर्न सक्नुपर्छ ।

दिन प्रतिदिन गैरआवासीय संगठनको विस्तार र यसको आकारमा आएको वृद्धि निश्चय नै गर्वको कुरा हो । तथापि योजनाबद्ध ढंगले दीर्घकालीन सोंच तयार गरी ठोस उपलब्धिमुलक कार्य गर्न नसके संगठन विस्तार मात्र सफलताको मापन हुन सक्दैन, जसका लागि सर्वप्रथम संसारभरिका गैरआवासीय नेपालीका सूचनालाई केन्द्रीकृत गर्न काठमाण्डौंमा अन्तर्राष्ट्रिय गैरआवासीय संगठनको केन्द्रीय भवन बनाउन तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ । यसका साथै संगठनको विधानलाई समेत परिवर्तित समयानुसार समयसापेक्ष बनाउनु पर्छ । एनआरएनले स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा प्रशस्त योगदान पुर्‍याउँदै आएको छ । जसको प्रशंसा र कदर नेपाल सरकार र नेपाली जनताद्वारा नभएको होइन, तथापि ‘माछा मारेर दिनुभन्दा माछा मार्ने विधि सिकाउनु’ उत्तम भन्ने उखानलाई चरितार्थ गर्न हाम्रा सहयोग उत्पादनमुलक क्षेत्रमा भए सो सहयोग दीर्घकालसम्म लाभदायी हुनसक्छ । एनआएएनलाई सरकारले मुलुकको आर्थिक विकास अभिवृद्धिका निम्ति अत्यन्तै उपयोगी सावित हुनेे वर्गमा उभ्याएको छ । देश र जनताले एनआरएनमाथि गरेको गहिरो विश्वासलाई जित्न गैरआवासीय नेपालीहरुको व्यापारीक संयन्त्र बनाई सामूहिक लगानी कोषको अवधारणालाई सफल बनाउन अब कत्ति पनि ढिला गर्नु हुँदैन । देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने एक अर्ब अमेरिकन डलरको नेपाल लगानी कोष हाम्रो मुख्य एजेण्डा हुनैपर्छ । नेपाल सरकार आफैले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी यस प्रकृतिको लगानी कोषको घोषणा गरिसकेको वर्तमान अवस्थामा पछि पर्नु भनेको एनआरएनको संगठनमा नै समन्वय नभएको ठहर्छ । तुलनात्मक रुपमा संगठनमा कोष बढी मुनाफायोग्य ढंगले परिचालन र व्यबस्थित गर्न सकिन्छ ।

एनआरएनका केही प्रतिबद्धताहरु महत्वाकांक्षी भए भन्ने गुनासो पनि छ । होलान् पनि, तर पूरा क्रमबद्ध ढंगले पूरा भइरहेका छन् । महत्वाकांक्षी भनिएका योजना, लक्ष्यमा पुर्‍याउन सामूहिक एकता महत्वपूर्ण कडी हो । आगामी एक वर्षभित्र नेपाल लगानी कोष पूर्ण लक्ष्यमा पुग्ने गरी अधिवेशनमा यसको स्पष्ट खाका कोरिनु पर्छ । लगानीको मापन लगानीकर्ताको स्वेच्छा र मूल्याङ्कनमा निर्भर रहने हुँदा यो कोष नितान्त नाफामुखी हुनुपर्छ । तर गैरआवासीय संगठनको यस कोषसँग कुनै सरोकार हुनु हुँदैन ।

एनआरएनहरुले आफूप्रतिको जनअपेक्षा तथा विश्वसनीयता जोगाइराख्न पनि अब केही ठोस परिणामदायी काम गरेर देखाउनै पर्ने भएको छ । अन्यथा यस संगठनमाथिको विश्वास, अविश्वासमा परिणत हुन समय लाग्दैन । ‘एनआरएन’ शब्द आर्थिक लाभ र लगानीस“ग ९० प्रतिशत सोझै जोडिएको छ । यस अवस्थामा विभिन्न मुलुकमा एनआरएनअरुबीच आपसी समन्वय गरी व्यापार व्यवसायमा समन्वय गरिनु जरुरी छ । संस्थाका सदस्यहरुभित्र नै उचित तालमेल हुन नसक्दा सजिलै विस्तार गर्न सकिने कतिपय व्यापार व्यवसायहरु समेतले गति लिन सकेको छैन । यसबाहेक स्वदेशसँग सीधा व्यापार सम्बन्धका लागि उद्योग बाणिज्य महासंघ लगायतका व्यापारिक प्रतिष्ठानहरुसँग सहकार्य गरी विभिन्न मुलुकहरुमा व्यापारका सम्भावनाबारे अध्ययन गर्न सकिन्छ, जसका लागि मजबुत संयन्त्र निर्माण हुनु आवश्यक छ ।

Writer can be reach at email:[email protected]
(लेखक गैरआवासीय नेपाली संगठनका हङकङ प्रतिनिधि हुन् । यो लेख संगठनले भर्खरै सम्पन्न गरेको चौंथो अधिवेशनको सन्दर्भमा तयार पारिएको सोभेनियर बुकमा प्रकाशित भएको छ । -सम्पादक)