कविता-यी सप्पै, कहाँ-कहाँबाट आएका हुन् ?

कविता-यी सप्पै, कहाँ-कहाँबाट आएका हुन् ?


-चन्द्र गुरुङ,
मानिसहरू
उभेका छन् ठेलमठेल
संग्रहालयमा थुप्रेका दरबारी अवशेषहरू वरपर-
कन्सेरी नै तताउने
निर्दोष रगतले नुहाएका पुराना तरबारहरू
देख्दै रमाइलो लाग्ने
ओइलिएका फूलजस्ता सानाठूला श्रीपेँचहरू
र चित्ताबुझ्दो
एक कुनामा खोक्दै गरेको राजसिंहासन ।

अझै छन् थुप्रै थुप्रै-
जस्तै कि
सबै दाँतहरू मक्किएर झरेपछि
विषरहित सर्पझैं बनेको थोते राजदण्ड ।
जनताको आक्रोशले
ठाउँ ठाउँमा
धुजा धुजा पारिएको राजकीय पोशाकहरू
र सम्पूर्ण रौं-कपाल खुइलाएर
मासुपसलमा सजाइराखेको
बोइलर भाले जस्तै राजकीय इतिहास ।

अचेल-
यी ठूला ठूला दरबारी कोठाहरूमा
माकुरा-फौज रमाइलो पिङ्ग खेल्दै छन्
आलिशान बैठकहरूमा
कुर्सी मेचहरूमाथि
काठेकिराहरूको भोज चल्दै छ धमाधम
र शाही बागबगैंचाहरूमा
उहिल्यै झैं
गीत गाउँदैनन् पिँजडाबन्द सुगामैनाहरूले ।

तर अनायासै
यस रङ्गीन वातावरणमा
कहाँबाट आए यी मास्टरसा’बहरू ?
कक्षा कोठाहरूमा
घोकाउँदै छन् कलिला कोपिलाहरूलाई
इतिहासको ठेलीहरूबाट झिक्दै
बूढो महाराजाको गन्हाउने जीवनगाथा ।
यी राणाकालीन निरंकुश छायाँहरू
फूलबारीमा खुसक्क पसेर
फेरि
हिँड्ने कोशिसमा छन् रङ्गीन फूलहरू किच्दै
र गाउँघरतिर
बाघचालको खेलमा अभ्यस्त मुखिया बा’हरू
पञ्चायती बैठकहरूमा
गर्दै छन् देश भाँड्ने कुटिल छलफल ।

मुकुटको मुटु चर्केको छ
र महलका शरीरैभरि दरार परेको यस बेला
कहाँबाट आए यी खलबल हो-हल्लाहरू ?
यस कोलाहलपूर्ण माहौलमा
अस्पष्ट बनेको छ राष्ट्रियगानको सङ्गीत ।
यस कुहिरोभित्र
बाध्य बनेका छन् हाम्रा शहीदहरू
आफ्नै हत्याराहरूलाई (शहीदगेटमा)
उचालेर शिरमाथि ससम्मान राख्न ।

नयाँ युगीन गीत रच्दै
क्षितिजमा एक युवा कवि टल्किरहेको यस घडी
कहाँबाट आए यी संक्रमणग्रस्त हुरीबतास ?
सरकारी भवनहरूमाथि
लर्खराउँदै छ राष्ट्रिय झण्डा ।
किन ? हिमालपहाडहरू
पराजित मुद्रामा बसेका छन् चुपचाप
किन ? देशवासीहरू एकआपसमा भिड्दै छन्
बोकेर देशप्रेमको अभावग्रस्त मुटुहरू
र किन ? मूकदर्शक बनेका छन्
ढुँडिखेलको छातिभरि
यी जवान लोकतान्त्रिक आन्दोलनहरू ।

अचम्म लाग्दो !
कहाँबाट आए यी बगरे कसाइहरू ?
थुनेका छन् हामीलाई
च्वाँचेहरूको घीनलाग्दा खोरहरूमा
र छाड्छन् राजनैतिक फोहोरमाथि लडीबुडी गर्न ।
हामी बनेका छौँ
रङ्गीन गाई बाख्राहरू दुरुस्तै
अलमस्तीमा चर्दैछौँ
आफ्नै देशको छातीमाथि हरियो घाँस ।

साँच्चै,
यी सप्पैहरू… कहाँ कहाँबाट आएर
चर्काउँदै छन् हाम्रो मुटुभित्रको सुन्दर देश ?

(अप्रिल २०१०)