हङकङमा तीन अर्बको कोकिन बरामद

हङकङमा तीन अर्बको कोकिन बरामद


हङकङ । हङकङ प्रहरीले ३ सय ७२ किलोग्राम कोकिन सहित शंकास्पद आठजनालाई पक्राउ गरेको छ । उक्त मात्रा हङकङमा अहिलेसम्म बरामद मध्येकै सबैभन्दा ठूलो परिमाण हो ।

बरामद कोकिनको स्थानीय बजार मुल्य तेतीस करोड सत्तरी लाख हङकङ डलर जनाइएको छ । कोकिन छब्बीस वटा कार्टुनमा लुकाइ राखिएका अवस्थामा आइतबार ताइ पो तिनस्थित गाउँको एक तीनतल्ले घरबाट बरामद भएको हो । अन्तै पठाउन खोजिएको कोकिन गल्तीले हङकङ सिपमेन्ट भएको प्रहरीले जनाएको छ । कहिले र कहाँबाट भित्रियो भन्ने कुरा भने गोप्य राखिएको छ ।

स्थानीय लागुपदार्थ कारोबारीहरु सँग सम्झौता गरी सामान फिर्ता लैजान चिनियाँ मुलका डच नागरिक, चेङ मा कि आफ्नी श्रीमतीका साथ १५ अप्रिलमा हङकङ आएको प्रहरीले जनाएको छ । तर कारोबारीहरुले सामान फिर्ता गर्न नमानेपछि उनले नै प्रहरीलाई सुराकी दिएको हुनसक्ने बताइएको छ । अभियुक्त चेङ आधिकारिक बाटो हुदै देश छाडेको नदेखिए पनि मंगलबार सम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

पचास बर्षिय अन्तराष्ट्रिय लागुपदार्थ कारोबारी चेङ बर्षका दुई देखि तीनपटकसम्म यहाँ आउने गरेको प्रहरीले खुलासा गरेको छ । यस कारोबारमा ठूला अन्तराष्ट्रिय तस्करहरुको सहभागिता हुनसक्के जनाउदै मंगलबार यहाँबाट प्रकाशित संचारमाध्यमहरुले सो सम्बन्धी समाचार प्राथमिकताका साथ छापेका छन् । हङकङ बर्षौदेखि लागुपदार्थ ओसारपसारका लागि मुख्य मार्गका रुपमा प्रयोग भइरहेको समेत संचारमाध्यमहरुमा उल्लेख छ ।