पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा अपराधिक घटनामा संलग्न १२ जना अभियुक्तलाई सार्वजनिक गरेको छ। कास्की प्रहरीले आफ्नै कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै मुद्दा चलाउने बताएको छ। सार्वजनिक गरिएका अभियुक्तमा पोखरा अर्चलबोट बस्ने सुजित मुल्मीलाई पोखरा जिरो किलोमिटरका नितु ग्लास हाउसका मालिक पृथ्वीराज थापालाई खुकुरी प्रहार गरी भागेको अभियोग, भलाम गाविस वडा नं.३ बस्ने उद्धव लामिछानेले सोही ठाउँका समिर क्षत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ गरी सार्वजनिक गरिएको हो।
यसै गरी पोखरा-१३ दुइकुलाको मुहान बस्ने १४ वषीर्य विवेक परियारलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका अमृत श्रेष्ठ, वीरेन्द्र गुरुङ, विजय गुरुङ, सन्तोष गुरुङ, राकेश गुरुङ, चित्रबहादुर राना, राजेश श्रेष्ठसमेतलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ।
त्यसै गरी पर्वत घर भई सराङकोट पदेलीमा बस्दै आएका ३५ वषीर्य शम्शेर पुनलाई रामकृष्णटोल बस्ने कालिराजको घरबाट १० तोला सुनलगायत अन्य गरगहना चारेको अभियोगमा नियन्त्रणमा लिई सार्वजनिक गरिएको हो। यता पोखरा विरौटा बस्ने २२ वषीर्या मीना बरालको हत्या गरी फरार भएका ४० वषीर्य कलिम शेखसहित घटनामा संलग्न अन्य अभियुक्तलाई पक्राउ गरी मुलुकी ऐन बमोजिम मुद्दा चलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो। पक्रारका सम्मेलनमा प्रहरीले आपराधिक घटनामा प्रयोग गरिएका हतियार र बरामद गरिएका चोरीका सामान पनि सार्वजनिक गरेको थियो।–जय, मेयूस
प्रतिक्रिया