भर्जिन लण्डन म्याराथुनमा नेपाली

भर्जिन लण्डन म्याराथुनमा नेपाली


लण्डन । यही २५ अप्रिलका दिनमा सम्पन्न भएको बेलायतको अतिनै लोकप्रिय भर्जिन लण्डन म्याराथुनमा एकजना बेलायती भूत पूर्व सैनिक, लेफ्टिनेन्ट चन्द्र गुरुङ-क्वीन गुर्खा सिग्नल रेजिमेन्ट)ले नेपालको पर्वत जिल्लाअन्तरगत पर्ने आफ्नो गाउँ खाल्टेका र धौलागिरी अञ्चल क्षेत्रका निवासीहरुका लागि निःशूल्क दूरसञ्चार चिकित्सा सेवा उपलब्ध गराउने अभिप्रायले स्विफेन च्यारिटेबल ट्रस्ट, यूकेमार्फत उक्त संस्थालाई मद्दत्त गर्नको लागि सो म्याराथुन दौड प्रतियोगितामा भाग लिएका थिए । सो दौडको प्रथम चरणमा नै चन्द्र गुरुङले दौडने क्रममा अचानक एउटा पानीको बोत्तलमाथि खुट्टाको गेडी सड्किएको जस्तो अनुभूति उनलाई भएको थियो । असिम पीडा भए तापनि उनले दौडने क्रम छोडेनन् र जुन उद्देश्यको लागि उनी दौडेका थिए, सो कार्य पूरा गरेर एउटा अविष्मरणीय उनले कीर्तिमान राखेका छन् । उक्त दौडको लागि उनले पाँच महिनापहिलेदेखि कडा मिहिनेत गरेका थिए । आफ्नो परिवार, इष्टमित्र र सम्पूर्ण नेपालीहरुको प्रेरणाले गर्दा उनले सो दौड पूरा गर्न सकेका हुन् भनेर उनले सबैलाई आफ्नो ब्लगमार्फत सम्वोधन गरेका छन् । उनले आफ्नो गाउँ खाल्टेका र धौलागिरी अञ्चल क्षेत्रका निवासीहरुका लागि निःशूल्क दूरसञ्चार चिकित्सा सेवा उपलब्ध गराउने अभिप्रायको कोषमा हालसम्ममा ४५०० पाउण्डभन्दा बढी रकम चन्दादाताहरुबाट संकलन गरिसकेका छन् र चन्दा प्रदान गर्ने दाताहरु झन् थपिएको बताइएको छ ।

स्मरण रहोस्, भर्जिन लण्डन म्याराथुन हरेक वर्ष लण्डनमा आयोजित हुने बेलाइतको सबैभन्दा अति नै लोकप्रिय र प्रसिद्ध च्यारिटेबल दौडको इभेन्ट हो, लगभग साढे २६ माइलको दुरी भएको, सन् १९८१ बाट सञ्चालित यस दौडमा अहिलेसम्म ७४६६३५जनाले दौड पूरा गरेका छन्, र अहिलेसम्म ४०० मिलियन पाउण्डको फण्ड राइज गरिएको छ । उक्त दौड, लण्डनका विभिन्न गल्ली तथा सडकहरु हुँदै प्रसिद्ध ब्ल्याकहिथमा सम्पन्न हुन्छ । यसपालिको सम्पन्न भएको इभेन्टमा ४७.२ मिलियन पाउण्ड उठाइएको थियो जसले संसारमा एउटै इभेन्टमा सबैभन्दा धेरै रकम संकलन गरी यही साल गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ । लेफ्टिनेन्ट गुरुङले एक लाख पाउण्डको कोष संकलन गर्ने लक्ष्य राखेका छन् जसमध्ये भर्जिन मिडियामा राखिएको उनको प्रोफाइलमा मात्रै १७०० पाउण्ड उठिसकेको छ ।–सुमल, मेयूस