हङकङेली नेपालीहरुको जमघट

हङकङेली नेपालीहरुको जमघट


फानवोरो । हिजो फानवरोस्थित ओकफाम कम्युनिटी स्कुलको हलमा हङकङ यूके नेपाली मञ्चको वार्षिक भेटघाट कार्यक्रम भव्यताको साथमा सम्पन्न भयो । हरेक वर्ष मे -१ तारिखका दिन सम्पन्न हुनै यस वार्षिक भेलामा हङकङेली नेपालीहरुको सङ्ख्यामा वृद्धि भएको पुराना सहभागीहरुले बताएका थिए । समयभन्दा केही ढिलो शुरु भएको उक्त भेटघाट कार्यक्रममा सम्पूर्ण दिनको समय छुट्याइएको थियो ।
विहानैदेखि हङकङेलीहरुको उत्साहपूर्वक जमघट रहेको थियो । हलबाहिरको खुल्ला चउरमा घाम ताप्दै बीबीक्यूमा रमाउँदै आफ्ना पुराना हङ्गकङ्गे साथी तथा नातेदारहरुसँग भलाकुसारी गर्ने गरिएको सो भेटघाटले ताइमोसान र मंकीहिलको पनि यादताजा भएको सहभागीहरुको विचार रहेको थियो ।
बेलुका पाँच बजे मात्र मंचका सचिव विश्वजङ्ग गुरुङद्वारा औपचारिक कार्यक्रमको संचालन भएकौ थियो, जसमा हङकङ बसाइको अवसरमा त्यहाँ ग्ल्यामराइज्ड क्षेत्रमा कीर्ति स्थापित गर्ने प्रतिभाहरुलाई खादा पहिर्‍याएर फूलको गुच्छाले सम्मान गरिएको थियो । मिस्टर हङकङ नेपाल, मिस हङकङ नेपाललगायत ट्यालेन्ट हण्टका विजेताहरुका साथै हङकङबाट निर्मित सिनेमाका अभिनेता आदि सम्मानित भएका थिए । मंचका उपाध्यक्ष ओम गुरुङद्वारा छोटो स्वागत मन्तव्य दिएका थिए । अध्यक्ष प्रेम गुरुङले यसरी जीवनलाई एक स्तरीय रुपमा ठेगान लगाउने क्रममा हङकङबाट यूके बसाइ सरेका समुदायहरुबीच सोही सन्दर्भमा भ्रातृत्व यथावत रहोस् भन्ने हेतुले यसरी वार्षिक रुपमा जमघटको कार्यक्रम गरिएको भन्ने बारे भावुक मन्तव्य राखी, उपस्थित सबैलाई स्वागत तथा धन्यवाद गरेपछि मनोरञ्जन चरणका धनु थकालीलाई माइक हस्तान्तरण गरिएको थियो । धनु थकालीले लक्ष्मी थापालाई आफ्नो सहयोगीका रुपमा मञ्चमा बोलाएपछि कार्यक्रममा साँस्कृतिक चरण शुरु भएको थियो । कार्यक्रमको शुरुमै फानबोरोस्थित निरमाया रोधीका नृत्य जोडीले सहभागी सबैको मन जित्न सफल भएको थियो । यो जोडीका केही नृत्यपछि स्थानीय कलाकारहरुका नृत्यहरु रहेको थियो ।
यही अवसरमा यस बेवको आधिकारिक रुपमा उदघाटन गरिएको थियो । एक समुदायको रुपमा आफूलाई बिस्तार गरी साथसाथमा निष्पक्ष सूचना तथा स्पष्ट विचारहरुको सम्पादन गर्ने ध्येय राखिएको यस वेबलाई सहभागीहरुबाट सकारात्मक रुपमा लिइएको छ ।
हङकङ नेपालिज मञ्च, यूकेको उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन आयोजक टोली सफल मानिएकौ छ । यो वर्ष अत्यधिक सहभागीहरुको उपस्थितिमा प्रवन्ध पूर्ण रहेको थिएन । बीचमा तेक्वान्दो मास्टर प्रेम गुरुङ, प्रमुख प्रशिक्षक हरी गुरुङ र सहप्रशिक्षक विजय गुरुङका निर्देशनमा क्लबका खेलाडीहरुबाट प्रस्तुत गरिएको तेक्वान्दो प्रदर्शनीले नेपाली अभिवावक र नानीहरुलाई प्रोत्साहन दिएको थियो । मास्टर प्रेम गुरुङ, प्रशिक्षक हरि गुरुङ, विजय गुरुङ हङकङबाट नै कुशल खेलाडीको रुपमा परिचित नाम हो र अहिले उनीहरुले आफ्नै क्लव संचालन गरेका छन् । कार्यक्रम अत्यन्त सफल भए तापनि अन्तमा अत्यधिक सहभागिताका कारण बेलुकाको खाना अपुग हुँदा लामो पर्खाइ गर्नु परेको थियो ।-बानियाँ-मेयूस

तस्वीरः याम, भीम, बाँकी तस्वीरहरुको एल्बम हेर्न “यहाँ क्लिक गर्नुहोस् ।