यसकारण गरिएछ निर्माण व्यवसायी गौचनको हत्या

यसकारण गरिएछ निर्माण व्यवसायी गौचनको हत्या


रूपन्देही एमालेका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हालै गरिएको हत्या प्रकरणका मूख्य योजनाकार समीरमान सिंह बस्न्यातलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार अभियुक्त बस्नेतलाई सार्वजनिक गर्ने क्रममा प्रहरीले जानकारी दिएअनुसार २०७३ पौष ४ गते सोमबार रूपन्देही जिल्ला, देवदह न.पा. खैरहनीस्थित ने.क.पा. एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरी बस्नेतले हत्या गरेका थिए । सोही वर्षको चैत्र २९ गते काठमाडौ, गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’को प्राङ्गणमा दावा लामालाई गोली प्रहार गरी यिनै बस्नेतले घाइते तुल्याएका थिए ।

यसैगरी गत असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको नयाँबानेश्वर, प्रयाग मार्गमा गोली हानी हत्या गरेपछि अभियुक्त बस्नेतको आपराधिक क्रियाकलापबारे आममानसमा थप जिज्ञासा र जानकारी मिलेको थियो ।

समिरमान सिंह बस्न्यात तीनवटै घटनाका मूख्य योजनाकार रहेको प्रहरीले जानकारी दिएको छ । बताइएअनुसार नेपालमा भएका विभिन्न अपराधिक घटनाहरूमध्य गुण्डाहरूको संगठित समूहद्वारा श्रङ्खलाबद्ध रूपमा विभिन्न मिति र स्थानमा घटाइएका तीनवटै घटनाको मुख्य योजनाकार काजिकामनपा वाफल–१३ स्थायी घर भई विगत २ वर्ष ६ महिनादेखि नेपाल सीमाबाहिर विभिन्न देशमा बसी नेपालका व्यवसायीहरूलाई धम्क्याई, तर्साई, आतङ्कित पारी रकम असुल्ने कार्य गर्दै आएकोमा केही दिनअघि नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीको आधारमा सिआईबी ब्यूरोको टोलीले गत १६ गते नारायणघाट, चितवनबाट ३४ वर्षीय समीरमान सिंह वस्न्यातलाई पक्राउ गरिएको हो ।

समीरमानमाथि अनुसन्धानको क्रममा खुल्न आएका तथ्यबारे थप प्रकाश पार्दै प्रहरीले जानकारी दिएअनुसार दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पूर्ण जिम्मेवारी लिए तापनि त्यस घटनाको मुख्य योजनाकार समिरमान सिंह वस्न्यात भएको खुल्न आएको छ । दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह वस्न्यातको मूख्य सहयोगी भएको खुलासा भएको छ ।

दावा लामालाई गोली प्रहार गरी घाइते बनाएको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङद्वारा अमरबहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरिएको थियो । शरदकुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङ लामा र मनोज पुनलगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको देखिएको छ ।

बस्न्यात पक्राउ परेपश्चात उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्वन्द्वका कारण मनोज पुन उक्त समूहबाट अलग्गिएकोे खुल्न आएको प्रहरीको भनाई छ ।

यस्तै, बसन्त थेबे र धनराज योङहाङ बस्ने घरको परिसरमा राखिएको फुलको गमला भित्र लुकाई राखेको दुई थान हतियार ८ राउण्ड गोली सहितको पेस्तोल र २ राउण्ड गोलिसहितको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यसअलावा अभियुक्तहरूबाट अपराध कर्ममा प्रयोग गरिँदै आएको बा.३५ प २४६१ को साइन, बा.४६ प ४८५३ को निलो पल्सर, बा. ४४ प ७७८६ को कालो पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।

शरद गौचनलाई बस्नेतले हत्या गर्नुको कारण खुलासाा गर्दै प्रहरीले भनेको छ– ‘प्रारम्भिक अनुसन्धानको क्रममा मृतक शरदकुमार गौचनले संचालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनि गजुरमुखी कन्स्ट्रक्सनका मूख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत रू. २.५ करोड (दुई करोड पचास लाख) लिएका थिए । उक्त रकममध्य समिरमान सिंह बस्न्यातले एक करोडचाहिँ आफ्नो भएको दाबी गर्ने गरेका थिए । कुमार श्रेष्ठको मृत्युपश्चात उक्त सम्पुर्ण रकम बराबरको डाँफे कन्स्ट्रक्सनमा शेयर वा रकम फिर्ता गर्न भनि समिरमान सिंह बस्न्यातले पटक–पटक माग गर्दा दुबै माग गौचनबाट पूरा नहुँदा विवाद उत्कर्षमा पुगेको थियो ।

यस्तै, वीरगंजदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २५ प्रतिशत रकम माग गरेकोमा गौचनले बेवास्ता गरेको बस्नेतको आरोप छ । यसै विषयमा नजरअन्दाज गरेपछि रुष्ट भई गौचनको हत्या गर्ने निचोडमा आफू पुगेको समीरमानले प्रहरीलाई बयान दिएका छन् ।

आमनगारिकले अत्यन्त चासोका साथ व्यग्रतापूर्वक प्रतीक्षा गरेको गोचन हत्या प्रकरणबारे अपेक्षाकृत तवरले प्रहरीले मामलाको गाँठो फुकाएको सन्दर्भलाई प्रहरीको प्रशंसनीय कार्यको रुपमा हेरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्कीले फेरि पनि आफ्नो क्षमता प्रदर्शन गरेर व्यक्तिगत मात्र नभई नेपाल प्रहरीकै गरिमा र विश्वास उँचो बनाएको सन्दर्भका रुपमा यसलाई लिइएको छ ।