मगरसंघ यूकेको बुद्ध जयन्ती

मगरसंघ यूकेको बुद्ध जयन्ती


एल्डरसट, यूके । गत २९ तारिख शनिबारका दिन एल्डरसटको क्वीनस् एभेन्युस्थित खुल्ला मैदानमा बुद्ध संघ यूकेले २५५२ औं बुद्धपूर्णिमा विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ ।
नेपाली लोकगीतहरुमा पीयच्डी गरेकी डा. एन्ना स्टिर, भिक्टोरिया क्रस विजेता तुलबहादुर पुन र लक्ष्मण गुरुङहरु विशेष रुपमा कार्यक्रमको आकर्षण रहेका थिए । कार्यक्रममा डा. एन्नाको साथमा मिलन लामा, ज्योती क्षेत्री, चन्दा थापा र प्रकाश रानाहरुले विभिन्न नेपाली लोक दोहोरीहरु गाएर सयौं दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
भीसी विजेताहरुले मगर संघ यूकेले आयोजना गरेको सो बुद्ध जयन्तीको कार्यक्रममा बुद्धको विधिवत पूजा संयुक्त रुपमा गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा राजदूत सुरेशचन्द्र चालिसे, मगरसंघका अध्यक्ष कुलबहादुर थापामगर आदिले बुद्ध, शान्ति र नेपालको वर्तमान अवस्थाको बारेमा बोलेका थिए ।
कार्यक्रमको सांस्कृतिक चरणमा हुर्रा, घाँटु, सलाइज्यु, कौडा आदि नृत्यहरुको प्रदर्शनी गरिएको थियो भने गुल्मेली समाज यूकेले नेपालमा पनि विस्तारै लोपोमुख रहेको नौमती बाजा बजाएका थिए भने मगरसंघ यूकेसँग आवद्ध विभिन्न मगर संस्थाहरुका साँस्कृतिक टोलीहरुले आआफ्ना विविध साँस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमका संयोजक तथा मगरसंघ यूकेका उपाध्यक्ष दूत पुनमगरले स्वागत मन्तव्य दिएका थिए र महासचिव योग कुमार फागामी र अर्का उपाध्यक्ष हेम थापाले कार्यक्रमको र बुद्ध जयन्तीको बारेमा बोलेका थिए भने रमेश सराङ्कोटी, रुपा राना, आखु पुलामी र कमला रानाले संयुक्त रुपमा उक्त कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा मगर भेषभुषामा सयौंको सङ्ख्यामा मगरहरुको सहभागिता रहेको थियो ।-मेस,