सपना खेती !

सपना खेती !


सपना ! सुन्दर सपना
फूलैफूलको बगैँचामा
ताजा पानीको फोहरासँगै
आफू उर्लिरहेको सपना !

उभिएको आधारलाई भावनाभित्र
सुन्दर शब्दहरुले सिँगार्दै
‘एस म्यान’हरुको भैलो टोलीसँगै
मुक्तिका भजनहरु भट्याइरहेको
गुलियो कक्टेल सपना !!

नाङ्गाका बस्तिहरुमा
भविष्यका काल्पनिक कपडा बुन्दै
नशासहितको नास्तामा
समोसा बेच्दै गरेको सपना !!!

थोत्रो कटेरीभित्रबाट
निरासाको आँधिलाई रोक्ने
पिरो यथार्थलाई अनुभवीले झैँ
सम्मोहन गरिदिने सपना !!!!

फगत सबैका आ-आफ्नै सपना !
बन्धकी सपना बोकेका
ठेकेदार साहित्यकार !
भरिएको बेलुन जस्तै
समभावसुन्य लेखक !!
के तिमीलाई थाहा छ ??
गरिवका गाँसभित्र
कति कथा अड्किएका छन ?
समस्त त्यो जीवनीभित्र
कति कविता तैरिएका छन ??
कोही पुगेको छ मन टाल्न वेदनाको
भनिदेउ ए मेरा साहित्यकार !
कविता कहाँ अड्किएको छ ?

ए लेखक ! भनिदेउ
खेतालाको पसिना
शब्द-शब्दले कथा मागेको होकि ?
मन बहलाउने रुपक मात्रै
वा रुपकले उद्घोषक ?
शब्दमा रमाउने मन्डली
सपना बाँडेर गुजारा गर्ने
सपनामै रमाउने
सपनाहरु बुनेर
ममःहिताय शोकाञ्जली ?