माओवादी आमहडताल शान्तिपूर्ण

माओवादी आमहडताल शान्तिपूर्ण


काठमाडौं, माओवादी आमहडतालको पहिलो दिन शान्तिपूर्ण भयो । हिजो आइतबार देशभर यातायात, उद्योगधन्दा र बजार ठप्प रहे भने ‘प्लस टु’को परीक्षामा अवरोध गर्दा केही ठाउँमा भने झडप भएका छन् । उपत्यकामा बिहानैदेखि यातायातका साधन, कलकारखाना, शैक्षिक संस्था, व्यापार-व्यवसाय ठप्प भए । आमहडताल सफल बनाउन माओवादी कार्यकर्ताले बिहानैदेखि करिब दुई दर्जन ठाउँमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा टायर बाल्ने र रेलिङ भाँच्ने तथा ढुंगामुढा भने भएनन्, प्रहरीले पनि संयमपूर्वक निगरानी गरिरहेको थियो ।

आमहडतालमा प्रेस, एम्बुलेन्स, खानेपानी र दूधका ट्यांकर, शववाहनलगायतका अत्यावश्यक साधनहरू निर्वाध रूपमा चलेका थिए । हातहात र पोलपोलमा झन्डा फहराएका थिए माओवादी कार्यकर्ताले । युनिट-युनिट बनाएर प्रदर्शनको व्यवस्थापन गरिएको थियो । घुसपैठ गरेर शान्ति भाँड्ने षड्यन्त्र हुन सक्ने भन्दै स्वयंसेवकहरूले निगरानी गरिरहेका थिए ।

माओवादीले साँझ मसाल जुलुस गरेको छ । उपत्यकाका दैनिक उपभोग्य वस्तु राखिएका पसलहरू खुला भए । माओवादीले आह्वान गरेको आमहडतालमा पनि साँझ दुई घन्टा किनमेलका लागि खुला राख्न दिने निर्णय गरेको थियो । खुलेका पसलहरूमा सर्वसाधारणको भीड देखिन्थ्यो ।

त्यसैबीच सहमति खोज्न आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विनानिष्कर्ष टुंगिएको छ । संयन्त्रको अर्को बैठक आज साँझ पुनः बस्ने सहमति भएको छ । संयन्त्रको बैठकमा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई कार्यदलले आफ्नो रिपोर्टबारे जानकारी गराएको थियो । शीर्ष नेताहरूले कार्यदलको प्रयास सकारात्मक रहेको भन्दै थप छलफल गरेर सहमतिमा पुग्ने बताएका थिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले गरेको काम प्रगतिउन्मुख रहेको भन्दै आज दुईपक्षीय र बहुपक्षीय छलफलपछि पुनः शीर्ष नेताहरूको बैठक बसेर सहमति गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावपछि दलहरूबीच देखिएका असहमतिका बुंदा प्रवेश नै नगरी बैठक टुंगिएको स्रोतले जनाएको छ ।

आन्दोलन शान्तिपूर्ण रहे पनि माओवादी र नेपाली सेनाबीच तनावपूर्ण वक्तव्यबाजी भएको छ । माओवादीले सुराकीको आरोपमा दुईजना सिपाहीलाई समातेर प्रहरीलाई बुझाएको छ भने आइन्दा त्यसो गरे घटनास्थलमै बल प्रयोग गर्ने चेतावनी सेनाले दिएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार माओवादी आन्दोलनको जासुसी गरिरहेको अवस्थामा सिपाहीहरू रेशम हमाल र देवबहादुर विष्टलाई कार्यकर्ताले समातेका थिए । प्रवक्ता शर्माले ती सैनिकहरूले सुन्धारादेखि जमलसम्म आन्दोलनको गतिविधि अवलोकन गर्न खटाइएको भनी बयान दिएको बताए । उनीहरूलाई सुन्धाराको सिभिल मल क्षेत्रबाट पक्राउ गरिएको र सामान्य सोधपुछपछि प्रहरीलाई बुझाइएको माओवादी प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उता सेनाले भने आफ्ना सिपाहीहरूलाई पक्राउ गरी आन्दोलनकारीले सिंगो संस्था -नेपाली सेनाकै बदनाम गर्न खोजेको आरोप लगाउँदै सेनाको धैर्य र संयमलाई कमजोरी नठान्न चेतावनी दिएको छ ।

साभार: नयां पत्रिका