बेकह्यामको आफ्ना छोरालाई फुटबलर बनाउने सपना

बेकह्यामको आफ्ना छोरालाई फुटबलर बनाउने सपना


आफ्नो सन्तानको भविष्यप्रति सबै आमाबुबा चिन्तित हुने गर्छन् । आफ्ना सन्तान कुलतमा नजाऊन् भनेर कामना पनि गर्छन् उनीहरू । फुटबलका स्टार खेलाडी डेभिड बेकह्याम पनि आफ्ना तीन छोरालाई फुटबलर भएको देख्न चाहन्छन् । इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामले आफ्ना छोराहरू ब्रुकलिन-११, रोमियो-७ तथा क्रुज-५ लाई इंग्ल्यान्ड राष्ट्रिय टोलीको सदस्य बनाउने सपना बुनेका छन् । बुबाको चाहनाविपरीत छोराहरूको भने बास्केटबल, बेसबल तथा अमेरिकन फुटबलमाथि मन छ । पाँच वर्षअघि रियल म्याडि्रडबाट अमेरिकाको ग्यालेक्सी क्लबमा स्थानान्तर भएपछि बेकह्याम परिवार त्यहीँ बस्दै आइरहेको छ ।

अमेरिकामा लामो बसोबासका कारण उनका सबै छोरा स्थानीय खेलप्रति आकषिर्त हुन पुगेको तर्क बेकह्याम राख्छन् । ‘अमेरिकामा बसोबासका कारण उनीहरू त्यसतर्फ आकषिर्त हुन पुगे,’ बेकह्यामले भने, ‘पाँच वर्षको अवधिमा छोराहरू फुटबलभन्दा पनि अमेरिकन फुटबल, बेसबल र बास्केटबल हेर्न र खेल्न रुचाउँछन् ।’ ग्यालेक्सीको खेल हुँदा उनीहरू बास्केटबल र अमेरिकन फुटबल हेर्न जान्छन् । जेठो छोरा ब्रुकलिन भने कहिलेकाहीँ बुबाको खेल हेर्न जाने रहेछन् । ‘निकै न्यून संख्यामा छोराहरू मेरो खेल हेर्न आउँछन्,’ बेकह्यामले भने, ‘धेरैजस्तो समय उनीहरू एनबिए खेल नै हेर्न जान्छन् ।’

यद्यपि, छोराहरूका आआफ्नै इच्छा तथा चाहना भए पनि एक दिन उनीहरूलाई फुटबल खेलाडी नै बनाउने दाबी बेकह्यामले गरेका छन् । उनका अनुसार उमेरसँगै क्रुज, ब्रुकलिन तथा रोमियोले बुबाकै पथलाई पछ्याउनेछन् । ‘अहिले त उनीहरू कलिला नै छन्, सोच्ने र बुझ्ने शक्तिको विकास भएपछि छोराहरूले फुटबललाई प्राथमिकता दिनेछन्,’ विश्वासी बेकह्यामले भने, ‘मान्छको रुचि एकछिनमै परिवर्तन हुन सक्छ, यसैकारण एक दिन उनीहरू पनि फुटबल खेलिरहेका हुन्छन् ।’

आफ्ना छोराहरू प्रतिभावान भएको बताउँदै बेकह्यामले भने, ‘उनीहरू निकै चलाख छन्, सबै क्षेत्रमा ध्यान दिन्छन् ।’ अमेरिकाको स्कुलमा अमेरिकन फुटबल र बेसबसलाई पहिलो प्राथमिकतामा राखेका कारण आफ्ना छोराहरू त्यसतर्फ आकषिर्त हुन पुगेको भनाइ उनको छ । स्थानीय संस्कृति तथा वातावरणले व्यक्तिको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउने उनले बताए । सोहीअनुरूप छोराहरूले पनि अमेरिकन संस्कृति अँगालेको बेकह्यामले बताए । उनका अनुसार इंग्ल्यान्डको बसाइँसराइपछि छोराहरू फुटबलप्रति आकषिर्त हुनेछन् ।

बृटिश तथा आयरल्यान्डका सर्वाधिक धनी खेलाडीको सूचीमा बेकह्याम दोस्रो स्थानमा रहेका छन् । द टाइम्स स्पोटर्सले गरेको सर्वेक्षणमा प्रिमिएरसिप क्लब विगनका प्रमुख डाभ हवेलान सर्वाधिक धनी खेलकुदकर्मी बनेका छन् । पछिल्लो तीनदेखि पाँच वर्षको अध्ययनपछि द टाइम्सले आइतबार सो सूची सार्वजनिक गरेको हो । वेल्सका मालिकले १९ करोड पाउन्ड आर्जन गरेका छन् । बेकह्यामको सम्पत्ति भने १२ करोड पाउन्ड छ । पाँच वर्षका लागि ग्यालेक्सी क्लबसँग आबद्ध बेकह्यामको आम्दानी फुटबल तथा विज्ञापनबाट हुन्छ ।

श्रोत: नयाँ पत्रिका