कविता-चिन्न पनि गाह्रो भो’

कविता-चिन्न पनि गाह्रो भो’


-दाजु गुरूङ,
सुन्नु भएछ;
तर धेरै अबेर भइसक्यो
फूल फुल्ने आँगनमा
बेथितिको कटहर फल्न थालेपछि
गोहीको आँखामा पनि आँशु रसाउन थालिसकेछ
यसबेला यहाँलाई के भनौं ?
भन्नलाई महाभारतका पर्वहरु पनि छोटो हुन्छ ।
मौका परेको छ , चौका हान्नुहोस्-
छेपोरोले पनि मौसमअनुसार रङ्ग बदल्छ रे !
के गर्नु ! ब्वाँसो खेदेर स्याललाई बास दिएपछि
सिंगारी त हराउने नै भयो ।
आउनु भएछ ,
तर धेरै अबेर भइसक्यो,
शोकाकूल आँखाहरूमा
आँशु रित्तिन लागेको बेला
तूल र सयपत्री फूल पनि ओइलाउन थालिसकेछ ।
यस्तो अवसरमा यहाँलाई के दिऊँ ?
दिनका लागि हामी कर्णभन्दा दानी छौं
छातीमा हात राखेर आफैलाई सोधे हुन्छ-
एकलब्यले त बूढी औंला मात्र चढाएका थिए रे !
हामीले सिङ्खो हात र साथ दिएका थियौं
तर यहाँले पूरा जीवन नै लिनुभयो ।
चिन्नु भएछ,
तर धेरै अबेर भइसक्यो
युग हाँक्ने छातीमा पनि
विवेक र मानवताको खडेरी पर्न थालेपछि
आस्था र विश्वास डगमगाउन थालिसकेछ ।
अब त यहाँलाई चिन्न पनि गाहृो भो ।
कति धेरै परिर्वतन आएछ !
हात-गोडाहरूमा लामा-लामा नङ्ग्राहरू पलाउन थालिसकेछ,
अनुहार ठयाक्कै ड्र्याकुलाको जस्तो भएछ ।
पत्यार लाग्दैन भने कुवामा हेर्नुस् त-
अनुहारभरि डिकेन्द्र राजवंशीको रगत पोतिएजस्तो छ ।
तर चिन्ता लिनु पर्दैन हजुर,
तिर्खा नमेटिए-
अझै जीवित छन् धेरै-धेरै डिकेन्द्र राजवंशीहरू ।
(स्वं डिकेन्द्र राजवंशीमा श्रद्धाञ्जलीसहित )
[email protected]