खोटाङकी मनराखीको यसरी खल्बलियो सपना

खोटाङकी मनराखीको यसरी खल्बलियो सपना


वैदेशिक रोजगारीका लागि कतार पुगेपछि गत चार महिनादेखि अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

निरन्तर काम लगाएर कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी थिइन् ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेका थिए भने मनराखीको विचल्ली शुरु भएको थियो । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाजलाई गुहारेकी थिइन् ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी मनराखी यतिबेला खाली हात नेपाल फर्कनुपरेको छ भने विदेशमा कमाएर फर्केपछि आनन्दको जीवन बाँच्ने उनको परिवारको सपना नराम्रोसँग खल्बलिएको छ ।