पार्किङ समस्या समाधान गर्न चीन र नेपालबीच सहमति

पार्किङ समस्या समाधान गर्न चीन र नेपालबीच सहमति


साँघुरो सडक र पार्किङको समस्या समाधान गर्न चीन र नेपालबीच रसुवागढी नाकाबाट पर्याप्त सवारी साधन आवतजावत गरिने सहमति भएको छ । चीनको केरुङ र नेपालका सीमा सुरक्षा अधिकारीबीच हिजो सोमबार रसुवाको धुञ्चेमा सम्पन्न छलफलबाट नेपाली मालवाहक सवारी साधन पर्याप्त केरुङ पठाउने सहमति भएअनुसार निर्णय कार्यान्वयन हुन लागेको हो ।

बताइएअनुसार सोमबारको छलफलमा सवारी साधनलाई केरुङ जान एकदिने अनुमतिपत्रको व्यवस्था गर्ने तथा गैरकानुनी देखिएका वस्तु आयातनिर्यातमा चिनियाँ सुरक्षा जाँचसमेत कडा गरी सूचना आदानप्रदान गर्ने प्रतिबद्धता चिनियाँ पक्षले जनाएको छ ।

उता पर्सी (मंसिर २१) हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

गत राति १२ बजेदेखि बन्द गरिएको नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्ने बताइएको छ । निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको पर्साका प्रजिअ विनोदप्रकाश सिंहले जानकारी दिए ।