दुर्घटनामा परी नदीमा खसेका सातजना अझै बेपत्ता

दुर्घटनामा परी नदीमा खसेका सातजना अझै बेपत्ता


गत साता बुधबार चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा सवार सातजनाको अझै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त दिन काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ ख २९१ नम्बरको उक्त बस काठमाडौँतर्फ आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

हालसम्म बेपत्ता रहेकाहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का दुर्गाबहादुर कार्की, सन्धिखर्क–१ का मनिषा थापा, धारापानी–३ का नमराज बन्जाडे, अर्घाखाँची भूमिकास्थाना नगरपालिकाका हुमकला राहु मगर, नवलपरासीका शंकर कुँवर, विकास रेग्मी र कोपिला पोखरेल छन् ।

घटनामा सातजनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । खसेको तीन दिनपछि नदीबाट बसलाई बाहिर निकालिएको थियो । घाइतेहरूको अहिले पनि काठमाडौँ र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।