कन्जर्भेटिभको नेतृत्व पक्का

कन्जर्भेटिभको नेतृत्व पक्का


विश्वमा अमेरिकाको वर्चश्व रहेको अवस्थामा एक जमानाको शक्तिशाली देश बेलायतको राष्ट्रिय इलेक्सन विश्वको नजरमा केही छायाँमा परेको छ । अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुशको साथमा एक वफादार कुकुरको हैसियत राखेर ‘वार अन टेरर’मा लागेको भन्दै पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचना गर्ने गरिएको ब्रिटेनमा उनकै पूर्व अर्थमन्त्री गोर्डन ब्राउनलाई भने विपक्षीलगायत यूकेमा ओवामाको नक्कल पनि खराव किसिमले गर्न समर्थ वेलायती प्रधानमन्त्री भन्दै आलोचना गरिए पनि पर्यवक्षकहरुबाट विश्व आर्थिक मन्दीको त्यस्तो प्रतिकुल अवस्थामा पनि यूकेलाई विस्तारै ट्र्याकमा लगाउन समर्थ भनी मानिएकोथियो, तर हिजो भएको चुनावमा लेबर पार्टीलाई नराम्री खाल्डोमा हाल्न समर्थ भनी ब्राउनलाई इतिहासमा सम्झिने भएको छ ।

हिजोको चुनावमा, मदर डेमोक्रेसी भनिने बेलायतमा धेरै धाँधलीहरु अनि अनियमितताहरु भएको प्रकाशमा आएको छ । सन् १९९२बाट सबैभन्दा धेरै टर्न-आउट भएको मानिएको हिजोको चुनावमा कतिपय स्थानहरुमा दशबजेपछाडि पनि प्रशस्तै भोटरहरु पोलबुथको लाइनमा उभिरहेको देखाइएको छ भने कतै फर्जी नाममा प्रशस्तै भोटहरु खसालिएका बताइएको छ तर सो घटनालाई गम्भीरताका साथ लिई प्रधानमन्त्री ब्राउनले सोउपर छानविन गर्न टोली खटाएका छन् ।

प्रत्यक्ष टेलिभिजनको वहसमा लिबर डेमोक्रेटिकका निक क्लेगले अत्यन्तै राम्रो गरेका भए पनि वास्तविक रुपमा जनताले उनलाई यूकेलाई नेतृत्व गर्न सक्षम अझै मानेका छैनन्, किनकि अहिले फेरि अर्को प्रकारको विश्व आर्थिक मन्दीको लक्षण देखिएको समयमा खासै अनुभव र क्षमतामा अगाडि नपरेका निकलाई देश सुम्पन नचाहेको स्पष्ट भएको छ । पाउण्डलाई यूरोमा ढाल्ने र आप्रवासीहरुउपरको उनको अडानलाई बहुमतका जनताले पचाएका भेटिएको छैन । प्रधानमन्त्री ब्राउनको विपक्षमा अत्यन्तै कडा किसिमले उभिन सक्षम प्रतिपक्ष पार्टी कन्जर्भेटिभलाई यूकेका जनताबाट ज्यादा मन पराइए पनि पूर्ण म्याण्डेट भने दिइएको पाइएन । बीबीसीको आँकलनअनुसार कन्जरभेटिभले ३६ प्रतिशत, लेबरले २९ प्रतिशत अनि लिबरलले २३ प्रतिशत मत ल्याउने भएका छन् । सर्वत्र मानिएको आँकलनअनुसार कन्जर्भेभिले ३०५, लेबरले २५५ र लिबरलले ६१ वटा सिट ल्याउने पक्का रहेको छ र सो नतिजाले स्वतः रुपमा यूकेमा मिलिजुलि सरकार वा ‘हङ्ग-पार्लियामेन्ट’को अवस्था नै देखाउने पक्का छ । त्यस परिस्थितिामा लिबरल नै वास्तविक रुपमा तुरुपको इक्का हुने भएको छ ।

यूके चुनावको शुरुको अनुमानमा नै ‘हङ्ग-पार्लियामेन्ट’को छनक बजारलगायत सर्वत्र परिसकेको थियो र त्यसैको परिणामस्वरु आर्थिक कारोबारका सूचकहरु हृवात्तै तल र्झन थालेको छ । यसरी ‘हङ्ग-पार्लियामेन्ट’मा लगानीकर्ताहरु अर्थात् अर्थ क्षेत्रमा किन त यस्तो अविश्वास भनेर विभिन्न क्षेत्रबाट गम्भीरताका साथ विचार गर्न थालिएको छ । वास्तवमा यस्तो राजनैतिक अवस्थामा मिलिजुलि सरकारलाई ‘सेफ-पार्लियामेन्ट’को रुपमा हेरिन्छ र सो प्रकारबाट देशमा एक किसिमले स्थायीत्व राख्न सक्षम हुने मानिन्छ तर बदलिँदो विश्वको रुप, बदलिँदो विश्वका प्रकारविशेषका समस्याहरु अनि पार्टी तथा नेताहरुविशेषका अडानहरुलाई मध्यनजर राखेर मुलुकमा कुनै खास निर्क्यौलमा पुग्न समस्या तथा अप्ठ्याराहरु मात्रै स्पष्टिने अनुमान यो हालातमा सर्वत्र भएको मानिएको छ । विचारहरु बाझिएकाहरु एक स्थानमा बस्दा समाधानहरु कम र समस्याहरु ज्यादा हुने पक्का हुन्छ ।

प्रधानमन्त्री ब्राउनलाई फेरि अर्को चार वर्षका लागि जनताहरुले पत्याएका छैनन् भने क्यामरुनको नेतृत्वमा नयाँ सरकार र त्यसलाई सकारात्मक रुपमा अगुवाइ गरी यूकेमा सम्वृद्धिको लक्षण देखाए उनको साथै यूकेको भविष्य समधुर हुने पक्का छ नत्र क्यामरुनका साथै यूकेको हालात एकै साथ बिग्रने सम्भावनाहरु अर्को कोणबाट स्पष्ट देखिन्छ ।