सीमावर्ती क्षेत्रमा बढ्यो सुरक्षा चुनौती

सीमावर्ती क्षेत्रमा बढ्यो सुरक्षा चुनौती


– प्रणय साह

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मौन अवधि चलिरहेको बेला पर्सामा सुरक्षा चुनौती बढेको अनुभूति गरिएको छ । भोली मंसिर २१ गते दोश्रो चरणको निर्वाचनलाई लक्षित गर्दै आमनागरिकले हाल देखेकाभन्दा निकै फरक किसिमकबाट सुरक्षा सतर्कता बढाइएको पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मी बताउँछन् ।

स्थानीय तह निर्वाचनका बेला अपनाइएको भन्दा भिन्नै किसिमले सुरक्षा चेकजाँच, गस्ती र निगरानी बढाइएको सम्बद्ध सुरक्षा अधिकारीको भनाई छ । सर्वसधारणले पनि सुरक्षा संवेदनशीलता पहिलेभन्दा बढी अवलम्बन गरिएको अनुभूति गर्न थालेका छन् । जिल्ला प्रसाशन, नेपाल प्रहरी, सीमा सुरक्षा सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरूबीच प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दैनिक रुपमै सुरक्षा समितिको बैठक बस्ने गरेको छ । बैठकले जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर बिश्लेषण पनि गर्ने गरेको बैठकमा सहभागी हुँदै आउको एक अधिकारीले बताए ।

कमी–कमजोरी रहेका स्थानमा सुरक्षा ब्यवस्था बढाउने केन्द्रसँग समन्वय गर्ने काम भइरहेको छ । पर्साका सीमावर्ति सहरमध्येका वीरगंज प्रमुख व्यापारिक सहर भएकाले प्रहरीले यस क्षेत्रलाई सुरक्षाको चुनौती गम्भीरताका लिएको छ । सीमावर्ति क्षेत्रबाट वारपार हुने अपराधिक गतिविधि, संगठिक गतिविधि, दलिय टकराव लगायतको विभिन्न सुरक्षा चुनौतिलाई गम्भीरताका साथ लिएका छ ।

प्रहरीका अनुसार सुरक्षा चुनौतीमध्ये पहिलो चुनौतीको रूपमा नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी समुह भनिएको संगठित समुहको गतिविधिले पर्सा जिल्लामा पनि पछिल्लो समयमा प्रभावित गरेको देखिन्छ । बिस्फोटक पदार्थ पड्काएर तर्साउने घटना पर्सा जिल्लामा तीनवटा भएपछि सुरक्षा निकायले यसलाई गम्भीर रुपमा लिएका छन् । अहिले यस्ता गतिविधि रोक्न प्रहरीले नारायणी अञ्चलभरि ३० जनाभन्दा बढीलाई पक्राऊ गरेको छ भने पर्सामा मात्रै एक पुर्वसभासद ईस्लाम अन्सारी, सुदर्शनराज पाण्डे, भोजपुरा इन्चार्ज विगा चौरसियासहित १२ जनालाई पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

पर्सामा नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा झोलाभित्र प्रेसर कुकर राखेर तर्साउने काम भएको छ भने सोही पार्टीका निवर्तमान सांसद रामचन्द्र साहको घरनजिकको करेसाबारीमा सुतलिबम पड्काइएको छ । यस्तै, नेपाली कांग्रेसका पूर्वसांसद तथा पर्सा क्षेत्र २ बाट प्रतिनिधि सभाका उम्मेदवार अजय चौरसियाको गाडीमुनि सुतली बम पड्काइएको जस्ता घटना भएका छन् । प्रहरी तथा सेनाको टोलीले बिस्फोटक पदार्थ नस्ट गर्ने जस्ता तादरुकता देखाएका छन् । यद्यपि यी घटनामा कुनै मानवीय क्षति नभए पनि आम मतदाता र उम्मेदवारहरूमा त्रास भने अझै घटेको छैन ।

यसैबीच गत मंसिर ७ गते आवश्यक समन्वयका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक वीरगन्जमा सम्पन्न भएको थियो । नेपालमा आसन्न निर्वाचनका लागि अगावैदेखि समिा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइने बैठकमा सहभागी दुई देशका सुरक्षा अधिकारीहरूले निश्कर्ष निकालेअनुसार अहिले सीमा क्षेत्रमा दुबैतर्फका सुरक्षाकर्मीले सुरक्षा सतर्कता बनाएका छन् । चुनावका बेला दलहरूले नै सञ्चालन गरिरहेको सुचना केन्द्रले अनलाइन संचारमाध्यम र समाजिक संजालमार्फत एकअर्काप्रति आक्षेप लगाउँदै फैलाउने झुटो अफवाहलाई समेत निगरानी गरिरहेको जनाएको छ ।

मुख्य निर्वाचन कार्यालयले पर्सा जिल्लाको १ सय ६७ वटा मतदानस्थललाई सुरक्षा संवेदनशीलताको दृष्टिकोणले यीमध्ये १५ वटालाई मात्रै समान्य अवस्थाको भनेका छन् । जसमध्ये ७४ वटा संवेदनशील र ७८ वटा अति संवेदनशील मानेको छ भने जिल्लामा एक हजार ८ सय १६ म्यादी प्रहरी, एक हजार १ सय प्रहरी र करिब ५ सय नेपाल प्रहरी बाहिरबाट मगाएर खटाएको जनाइएको छ । जिल्ला सुरक्षा समितिका अनुसार सशस्त्र प्रहरी बल र नेपाली सेना पनि परिचालित गरिएको छ ।