निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय

निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय


मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर सिमरामा काठ तस्कर सक्रिय भएका छन् ।

सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ रहेको छ ।

जिल्लामा रहेका चारवटा साझेदारी वन सहित राष्ट्रिय वनबाट राति राति काठ तस्करले सालको काँचो काठ काटी तस्करी गर्ने गरेको स्रोतको दाबी रहेको छ । तस्करले साइकल, मोटरसाइकल र ट्रयाक्टरमा समेत काठ लोड गरी भारततर्फ लाने गरेका छन् । नाकामा प्रहरी रहे पनि निर्वाचनतिर ध्यान केन्द्रित भएका कारण तस्करको भाग्य नै खुलेको छ ।

त्यति मात्र नभई सालका रुख काटी तस्करले चिम्नी भटृामा बिक्री वितरण गर्ने गरेका छन् । उनीहरुले भारतका घोडासहान, छौडादानो, अदापुर, पचपोखरिया, अठमोहान, अगरवा लगायतका ठाउँमा तस्करी गर्ने गरेका छन् । वनका कर्मचारी पनि निर्वाचनमा खटेका छन् जसका कारण अहिले तस्करको मुख्य रोजाइ राष्ट्रिय वन नै परेका छन् ।

राष्ट्रिय वन बाँचे मात्र वातावरण जोगिने भएको हुँदा वन जोगाउन सबै सचेत हुनुपर्ने कुरामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जोड दिनुभयो ।