पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल  टालियो

पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल  टालियो


पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल  टालिएको छ । ढल फुटेर दुर्गन्धित हुँदा आवतजावत गर्न बटुवालाई कठिनाई भएको समाचार आएपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटेर मूल सडकमा खोला झै बगेको सो ढल पुरेर समस्या समाधान गरेको हो ।

महानगरपालिकाले समयमै ध्यान नदिँदा सो स्थानबाट आवत जावत गर्ने बटुवाले नाक थुनेर हिँडडुल गर्न बाध्य हुनुपरेको थियो । ढल फुटेर दुर्गन्धित हुनथालेको तीन महिना भन्दा बढी समय बित्दा समेत महानगरपालिकाको ध्यान गएको थिएन ।

विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्चस्थित बसपार्क क्षेत्रको ढल अहिले माटो हालिएका कारण मात्र छोपिए पनि फेरि निस्किएर दुर्घन्ध हुने स्थानीयवासी भोजराज श्रेष्ठ बताउनुहुन्छ ।

ढल फुटेकै वडामा बस्नुहुने महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ भने ढल दीर्घकालीन रुपमै व्यवस्थित गरिएकाले पुनःसमस्या नआउने बताउनुहुन्छ ।

“उपत्यकाका धेरै स्थानमा बस छुट्ने यो ठाउँमा ढल यसरी फुट्नु हुने थिएन, समयमै हाम्रो ध्यान जान सकेन,सञ्चारमाध्यमबाट पनि सार्वजनिक भएपछि मैले अनुगमन गर्न जाने क्रममा देखेपछि समस्या समाधान गरिएको हो । ”–उहाँले भन्नुभयो ।

अन्य स्थानमा पनि ढल फुटेर दुर्गन्ध फैलिएमा समयमै खबर गरे समस्या समाधान गरिने महानगरपालिकाले जनाएको छ ।